Aamsanchar

सरकारले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु देशकै लागि दुर्भाग्य– विजुक्छे

Author Image
सोमवार, चैत २६, २०७४

भक्तपुर,

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ ।

मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताउनुभयो ।

अध्यक्ष विजुक्छेले भन्नुभयो, “शासक दलका नेता देशको स्वार्थभन्दा आफ्नो स्वार्थमा लिप्त भएका छन्, नेताहरुले परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे, देशको स्वार्थमा लाग्न सकेनन् ।”

सरकारमा बसेकाले नै शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै उहाँले शैक्षिक माफिया मौलाउँदै गएकाले गरिबका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित हुँदै गएको छ भन्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले निजी र सामुदायिक विद्यालयबीच रहेको खाडललाई पुर्दै सामुदायिक विद्यालयको शैक्षिक उन्नतिका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्नुभयो ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर