Aamsanchar

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

Author Image
मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ,

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताउनुभएको छ । नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

“नाईले गरेको पेशागत सुरक्षा र इमान्दारिताका कारण एक दिन राजनीतिक रुपमा यो जातिको प्रतिनिधित्व उच्च तहमा हुन्छ,” नेता गच्छदारले भन्नुभयो ।
उहाँले नाई संघ स्थापनामा पार्टीका पूर्वसभापति एवम् लोकतान्त्रिक नेता गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पार्टी विभिन्न गुट, उपगुटमा रुमलिरहेको बेला एकताको महाधिवेशन गरेर पार्टी नेतृत्वलाई सकारात्मक सन्देश दिन आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले पेशागत मुद्दालाई लिएर अगाडि बढ्न श्रमिकलाई आग्रह गर्दै ट्रेड युनियनलाई केन्द्र, प्रदेश र गाँउमा संगठन विस्तार गर्ने गरी विद्यान संशोधन गरेको बताउनुभयो ।

त्यहीअनुसार संगठन निर्माण गर्न सबैलाई आग्रह गर्दै उहाँले श्रमजीवीको सामाजिक सुरक्षा भत्ता र पारिश्रमिक बढाउनेबारे अबको ट्रेड युनियन आन्दोलन लाग्ने छ भन्नुभयो । विसं २०४७ मा स्थापना भएको नाई संघमा हाल ७७ जिल्लाका करीब ३२ हजार नाई आबद्ध रहेको संघका अध्यक्ष राजाराम ठाकुरले जानकारी दिनुभयो ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर