Aamsanchar

यस्तो छ बिर्तामोड बसपार्कको हालत/सम्बन्धित निकाय मौन

Author Image
बिहिवार, चैत २९, २०७४

(लक्ष्मी काफ्ले)
झापा ।

शुक्रबार बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा आयोजित एक कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आफ्ना कुरा राख्दै थिए । उनलाई बिचैमा राकेर एक युवाले प्रश्नमाथि प्रश्न तेस्र्याउन थाले । वडाध्यक्ष लिङ्देनले ती युवाको प्रश्नको चित्तबुझ्दो जवाफ दिनै सकेनन् ।

‘तपाईंहरु निर्वाचित भएको वर्षदिन पुग्नै लाग्यो, अहिलेसम्म यो बसपार्कका लागि के चाहिँ गर्न सक्नुभयो ?,’ पुण्य रिमाल नाम गरेका ती युवाले भने, ‘बसपार्कको अवस्था घिनलाग्दो छ । बसपार्कभित्र गाडी नै छिर्दैनन्, रित्तै छ । हामी दमक जानुप¥यो भने रिक्सालाई ५० रुपैयाँ तिरेर गाडी खोज्दै पश्चिम बस स्टेण्डसम्म जानुपर्छ, बसपार्कमै गाडी पाइने हो भने त्यो ५० रुपैयाँमा हामी दमकसम्मै पुग्ने थियौँ ।’

वडाध्यक्ष लिङ्देनले यस विषयमा आफू चिन्तित रहेको र चाँडै व्यवस्थापन गरिने जवाफ दिए । तर, बिर्तामोडको बसपार्कको समस्या भने नयाँ होइन । वर्षौदेखि बसपार्क प्रयोगविहीनजस्तै बनेको छ । अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको स्वामित्वमा छ, टेकबहादुर गिरी बसपार्क । दुईवटा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क अस्तव्यस्त र अव्यस्थित छ । बसपार्कको भूभाग अर्जुनधारा–११ र बिर्तामोड–५ मा पर्छ ।

‘बसपार्कमा त गाडी छिर्दै छिर्दैनन्, ३ बजेपछि त लोकल गाडी नै भेटिँदैन, बसपार्कमा बसेको मान्छेले पनि गाडी चढ्न जान ५० रुपैयाँ खर्च गर्नुपर्छ,’ रिमालले भने, ‘बसपार्कमा गौँथलीको गुँडजस्ता काउण्टरहरु छन्, मान्छे बस्ने ठाउँलाई पेलेर जथाभावी काउण्टर राखिएको छ, काउण्टर राख्ने भवनमा दोकान र कफी सेन्टर छ, यही हो बसपार्क ?’

बिर्तामोडका विभिन्न सडक किनारमा दिनभर गाडी थल्क्याएर राख्नुभन्दा खाली रहेको बसपार्कमा ल्याएर गाडी राख्ने व्यवस्था मिलाउन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे । बसपार्क आउने मान्छेका लागि बस्ने ठाउँ नै छैन । बस्नका लागि बनाइएको ठाउँ काउन्टरहरुले मिचेका छन् । बसपार्क खाल्डैखाल्डा परेको छ । सडकको कालोपत्रे भत्किएको छ ।

पूर्वपश्चिम राजमार्गमा चल्ने अधिकांश यात्रुवाहक सवारीसाधन बसपार्कभित्र प्रवेश नै गर्दैनन् । सवारीसाधनले बसपार्क प्रयोग गरेवापत नगरपालिकालाई शुल्क बुझाउनुपर्छ । त्यसका लागि नगरपालिकाले बसपार्कको मुखैमा मान्छे खटाएको छ । तर, ती कर्मचारीको हातमा २० रुपैयाँ थमाइदिएर यात्रुबाहक बसहरु सिधै आफ्नो बाटो लाग्छन्, बसपार्क पस्दैनन् ।


बसपार्क सञ्चालनमा आएको वर्षौं बिते पनि बसपार्क व्यवस्थापन समितिसमेत गठन हुन सकेको छैन । अब चाँडै समिति गठन हुने बिर्तामोड–५ का वडाध्यक्ष लिङ्देनले बताए । उनका अनुसार बसपार्कको आम्दानी बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले ६०÷४० को अनुपातमा लिने सम्झौता छ । तर, दुबै नगरपालिकाले बसपार्कको सुधारमा भने चासो देखाएका छैनन् ।

स्थानीय सुदर्शन गिरीले आफ्ना दिवंगत पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको २ बिघा ८ कठ्ठा जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ । ७५ वटा सवारीसाधन पार्किङ क्षमता भए पनि बसपार्क दिनभर खाली नै रहन्छ । धेरैजसो सवारीसाधन बिर्तामोडको पश्चिम स्टेण्ड र भद्रपुर रोडमा पार्किङ गरी यात्री चढाउने गर्छन् ।

करोडौँ रुपैयाको लागतमा निर्माण भएको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने बसपार्क पछिल्लो समय लथालिंग बनेको छ । भारत सरकारको सहयोगमा बनेको बसपार्क क्षेत्रको यात्रु प्रतिक्षालयमा बस काउन्टरहरु सञ्चालन भइरहेका छन् । ट्राफिक एक्लैले यसको उचित समाधान निकाल्न नसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए । राजनीतिक दल, नगरपालिका, प्रशासन सबैले पहल गरेमा पूर्वको नमूना बसपार्क बनाउन सकिने उनको भनाइ छ ।

मौलायो वेश्याबृत्ति

बसपार्क क्षेत्रमा कयौँ होटलहरु सञ्चालित छन् । अधिकांश होटलमा खुलेआम यौन व्यवसाय सञ्चालन हुन्छ । यौनकार्यमा लिप्त जोडीलाई प्रहरीले दिनहुँजसो पक्राउ गर्छ । तर, समस्या भने अझै उस्तै छ ।

‘व्यवसायिक रुपमा मौलाएको वेश्यावृत्ति नियन्त्रण हुनै सकेन,’ स्थानीय व्यवसायी शिव पौडेलले भने, ‘हत्या, हिंशा, लुटपाट मच्चाउनेजस्ता गलत मनोवृत्तिका मान्छेको आश्रयस्थल बनेको छ बसपार्क, यसलाई कसले सुधार गर्ने ?

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर