झापा ।

नेपाल अलैँची व्यवसायी महासंघले राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ । नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान पुर्याउँदै आएको नगदे कृषिवस्तु अलैँचीका आन्तरिक व्यवसायी तथा निर्यातकर्ताहरुले व्यावसायिक हितका लागि स्थापना गरेको महासंघलाई नेपाल उद्योग वाणिज्य महासंघले पुरस्कृत गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित समारोहमा अलैँची व्यवसायी महासंघलाई सम्मान गरेकाे छ । नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई तथा कृषितर्फका उपाध्यक्ष राजकुमार कार्कीले संयुक्तरुपमा पुरस्कार ग्रहण गरेका थिए ।

अलैँची व्यवसायी महासंघ नेपाल उद्योग वाणिज्य संघको वस्तुगत सदस्य हो । उसलाई वस्तुगततर्फको पुरस्कार प्रदान गरिएको हो । उद्योग व्यवसाय क्षेत्रमा भएका लगानी प्रवर्द्धनको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेवापत कदरस्वरुप उद्योग वाणिज्य महासंघले सम्मानपत्र प्रदान गरेको अलैँची व्यवसायी महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए । महासंघले प्रत्येक वर्ष वस्तुगत संघको गतिविधि, क्रियाशीलता, संगठनात्मक संरचनाको विस्तार, व्यवसाय प्रवर्द्धनमा गरेका क्रियाकलाप, लाभग्राहीको अवस्था, राष्ट्रिय आयमा पारेको प्रभावलगायतको मूल्यांकन गरी वस्तुगत सदस्यलाई पुरस्कृत गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उद्योगी–व्यवसायीहरुको उपस्थितिमा गरिएको सो सम्मानबाट पनि नेपाली अलैँचीले अन्तर्राष्ट्रिय बजारमा परिचित हुने मौका पाएको र यसले निर्यात व्यापारमा थप सहयोग प्राप्त भएको अध्यक्ष भट्टराईले जानकारी दिए । सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य कृषिवस्तुमा अलैँची पहिलो नम्बरमा पर्दछ ।
अलैँची व्यवसायीहरुले असुरक्षा, दोहोरो करको समस्या, राजनीतिक दल र तिनका भातृ संगठनको चन्दाको मार बृहत रुपमा खेप्नु परेपछि झापाका निर्यातकर्तालगायत अलैँची उत्पादन हुने जिल्लाका व्यवसायी तथा अगुवा कृषकहरु संगठित भई २०६४ सालमा अग्रज उद्योगी राजेन्द्रकुमार घिमिरेको अध्यक्षतामा नेपाल अलैँची व्यवसायी संघ स्थापना गरिएको थियो । संघ गठन भएपछि त्यस्ता धेरै समस्या समाधान भएको, अलैँचीको निर्यात व्यवसाय प्रवद्र्धन, गुणस्तर सुधार, किसानमा प्राविधिक ज्ञानको विस्तार, अलैँचीको आफ्नै ट्रेडमार्क दर्तालगायतका महत्वपूर्ण कार्यहरु गर्दै आइएको महासंघका महासचिव ओमकृष्ण विमलीले बताए ।
यद्यपि पछिल्लो समयमा नेपाली अलैँचीको मूल्यमा उच्च गिरावट आएपछि किसान तथा व्यवसायीमा निराशा छाएको छ । महासंघले अलैँची उत्पादन हुने पूर्वी तथा पश्चिमी १३ वटा जिल्लामा शाखा विस्तार गरिसकेको छ भने संगठनात्मक रुपमा झण्डै एक हजार व्यवसायी गोलबद्ध भइसकेको महासंघका कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् ।-नयाँ पत्रिका

