बिर्तामोड।
बिर्तामोड–५ स्थित सनसाइन किन्डर हाउसलाई प्रदेश नं. १ कै नमूना विद्यालय बनाइने भएको छ । ११ वर्षअघि स्थापित विद्यालयलाई अब प्रदेशकै नमूना बनाउने कार्यका लागि आवश्यक निर्माणको थालनी शुक्रबारबाट भएको छ ।
बिर्तामोड–५ हर्कलाल मार्गस्थित हवी स्वीमिङ पूर्वको दुई विगाह जग्गामा बन्ने विद्यालय भवनको सिलान्यास समारोहमा संस्थापन प्रिन्सिपल पूजा गिरी र कार्यकारी निर्देशक श्रद्धा गिरी बोहोराले सनसाइनलाई अब प्रदेशकै नमूना विद्यालय बनाउने उद्घोष गरे ।
विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको समारोहमा कमला गिरी, तेजस्वी गिरी र दिलासा गिरीले भूमि पूजन गरी भवनको सिलान्यास गरेका थिए । ‘यहाँबाट अझै पनि शिक्षाका लागि दार्जिलिङ, कालेङबुङ, शिलगढी जस्ता ठाउँमा छोराछोरी पढाउने उत्तिकै छन्’–संस्थापक प्रिन्सिपल पूजा भन्छिन्– ‘अब झापाको बिर्तामोडमै त्यहाँको भन्दा गुणस्तरीय र नमूना शिक्षालय सनसाइनलाई बनाउँछौं ।’
एक वर्षभित्र निर्माण सम्पन्न गरी कक्षा १ बाट माथिका सबै कक्षा उक्त स्थानमा सारिने बताइएको छ । अहिले विद्यालयमा कक्षा ५ सम्म पढाइरहेको छ । शैक्षिक सत्र ०७६ बाट कक्षा ६ देखि माथिको पढाइ पनि सनसाइनले शुरु गर्ने प्रिन्सिपल बिना पोखरेल कार्की बताउँछिन् । प्ले गु्रपदेखि यू केजीसम्म भने अहिलेकै स्थानमा पढाइ हुने बताइएको छ । सनसाइनले कक्षा १२ सम्म हरेक कोठामा २६ जनामात्र विद्यार्थी राखेर स्मार्ट कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।
हाल ११ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयलाई समयको आवश्यकता र अभिभावकको माग बमोजिम सुविधासम्पन्न तथा पारिवारिक वातावरणका साथ पढाइको व्यवस्था मिलाइने प्रिन्सिपल पोखरेलको भनाइ छ । खेल्दै, रमाउँदै सिक्ने वातावरण अहिलेको आवश्यकता रहेको भन्दै संस्थापक प्रिन्सिपल गिरीले सो आवश्यकता सनसाइनले पूर्णरुपमा पूरा गर्ने बताइन् ।
विद्यालयमा आधुनिक र सुविधासम्पन्न कक्षा कोठा निर्माणका साथै अनुभवी शिक्षक, कर्मचारी, स्वीमिङ पुल, सबैखाले खेलको आफ्नै कम्पाउण्डमा व्यवस्था गरिने बताइएको छ । छुट्टै कार्यक्रम हल, कम्प्युटर ल्याब, लाइबे्ररी, होस्टल लगायतका सबै व्यवस्था विद्यालयले गर्ने बताइन्छ । अहिले जागीर या व्यवसायका कारण व्यस्त जीवनमा आफ्ना बालबालिकालाई उचित व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा बिहान ७ः३० बाट साँझ ५ बजेसम्म बालमैत्री घरेलु वातावरणमा सनसाइनमा खेल्दैसिक्दै पठनपाठनको व्यवस्था गरिरहेको बताइएको छ ।
अब नयाँ र फराकिलो स्थानमा साना र ठूला उमेरका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिने विद्यालयको भनाइ छ । भवन भुकम्प प्रतिरोधी र भूइँतला तथा पहिलो तलामात्र बनाइने बताइन्छ । सनसाइनमा अहिले तीन सय ५० बढी विद्यार्थी अध्ययनरत् छन् ।