Aamsanchar

‘शैक्षिक हव’मै विद्यार्थी भर्ना मुस्किल

Author Image
शनिवार, वैशाख ८, २०७५

[सुरेन्द्र भण्डारी]
बिर्तामोड।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । यो जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि बिर्तामोड नगरपालिका अझ सुगम ठाउँ हो । अझ भनौं बिर्तामोडलाई झापा कै मुटु पनि भन्ने गरिन्छ ।

पूर्वकै प्रमुख व्यापारिक केन्द्रविन्दुका रुपमा रहेको बिर्तामोड नगरपालिकालाई शैक्षिक ‘हव’कै रुपमा लिइएको छ । यहाँ क्याम्पससहित १८ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन दर्जनको हाराहारीमा निजी विद्यालय सञ्चालित छन् ।

२०७१ साल जेठ ४ गते साविक अनारमनी र चारपाने गाविसलाई समेट्दै बिर्तामोड नगरपालिका घोषणा गरिएको थियो । पछि गरामनी गाविसलाई पनि बिर्तामोड नगरपालिकामा समावेस गरिएको छ । २०६८ सालको जनगणना अनुसार बिर्तामोड नगरपालिकामा ६० हजार एक सय ७४ जनसंख्या रहेको छ ।
सुगम जिल्ला, त्यसमा पनि शैक्षिक ‘हव’का रुपमा चिनिएको यो नगरमा एउटा त्यस्तो सामुदायिक विद्यालय छ जहाँ लक्षित समुदायका मात्र बालबालिका अध्ययनरत् छन् ।

कोच आदिवासी, मुस्लिम, सिमान्तकृत र सुकुम्बासी टोलका मात्र बालबालिका अध्ययन गर्ने अनारमनी आधारभूत विद्यालय बत्ती मुनी अध्यारो भने झैं छ । यहाँका अभिभावकमा चेतनाको कमीका कारण आफ्ना नानीहरुलाई विद्यालय पठाउनुभन्दा काममा लगाउन अभिभावक उत्साहित हुने गरेको बताउँछन् विद्यालयका प्रधानाध्यापक टंक कटुवाल ।

बिर्तामोड नगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर पूर्व उत्तर र पूर्व–पश्चिम राजमार्गको मुक्तिचौकबाट पनि एक किलोमिटर पूर्व दक्षिण बिर्तामोड नगरपालिका– ४ घण्टीबारीमा यो विद्यालय रहेको छ । २०६९ सालमा स्थापना भएको यो विद्यालयमा एक सय ६९ जना विद्यार्थी भर्ना भए पनि मुस्किलले आधा विद्यार्थी मात्रै नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्याक कटुवालले बताए ।

‘हामी सबैको इच्छा, निःशुल्क आधारभूत शिक्षा’भन्ने मूल नाराका साथ सरकारले यो वर्ष पनि निःशुल्क विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । निःशुल्क विद्यार्थी भर्ना अभियान सञ्चालन गरिए पनि यो विद्यालयको क्षेत्रभित्र रहेका विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय नआएपछि विद्यालयले विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन रचनात्मक उपाय अपनाएको छ ।

बिर्तामोडमा रहेका विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गर्दै विद्यालयमा भर्ना भएका सवै विद्यार्थीलाई निःशुल्क स्कूल ब्याग र स्टेशनरी सामग्री प्रदान गर्न थालेपछि विद्यालय आउने विद्यार्थीको संख्या बिस्तारै बढ्न थालेको बताउँछन्– विद्यालयका प्रधानाध्यापक कटुवाल ।

विद्यालय आसपासमा लक्षित समुदायकको वसोवास रहेको र उनीहरुले आफ्ना बालबालिकालाई विद्यालय नपठाएपछि विद्यालयसँग सहकार्य गर्दै लायन्स क्लव अफ बिर्तामोडले विद्यार्थीलाई स्कूल ब्याग र स्टेसनरी सामग्री प्रदान गरेको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमलीले बताए ।
बिर्तामोड नगरपालिका– ६ का अध्यक्ष सूर्य कन्दङ्वाले सुगम नगरको रुपमा चिनिएको बिर्तामोडमा यस्तो पनि विद्यालय छ भनेर धेरैलाई थाहा नभएको बताए । उनले आगामी दिनमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले लायन्स क्लव अफ बिर्तामोडले हरेक दृष्टिकोणले पछि परेको अनारमनी आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कूल ब्यागसहित शैक्षिक सामग्री प्रदान गरेर सराहनीय काम गरेको बताए । दिगो विकास प्राप्तिका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने र वीरता जेसीजको तर्फबाट पनि विद्यालयलाई सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

दुई वर्षअघि नै साक्षर जिल्ला घोषणा भएको झापामा अझैं पनि विद्यालय जाने उमेर समूहका ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई पनि सहजरुपमा विद्यालयको पहँचमा ल्याएर गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्र सरकारले सञ्चालन गरेको निःशुल्क विद्यार्थी भर्ना अभियान प्रभावकारी हुने देखिन्छ ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर