Aamsanchar

राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाउनुपर्ने

Author Image
शनिवार, वैशाख ८, २०७५

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दैै उहाँले राजधानीको आवश्यकता धान्नलाई पनि रातिसम्म घुमफिर गर्न सक्ने गरी व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

“राति ११ बजेसम्म पर्यटक घुम्न सक्ने वातावरण बनाए अझ बढी पर्यटक आकर्षित गर्न सकिन्छ, यस्तो वातावरण बने उपत्यकाका १५ देखि २० स्थानमा राति पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले १५ लाख बाह्य पर्यटक भित्र्याइने बताउनुभयो । प्रतिपक्षलाई समेत साथमा लिएर विकास र समृद्धिको सपना पूरा गर्ने उहाँको प्रतिबद्धता थियो ।

सांसदद्वय जीवनराम श्रेष्ठ र रामवीर मानन्धर, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले उपत्यकाका सम्पदालाई पदमार्गका माध्यमबाट जोडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमअघि स्थानीयवासी र विभिन्न विद्यालयका विद्यार्थीले हनुमानढोकाबाट स्वयम्भूसम्म पदयात्रा गरेका थिए । महानगरपालिकाले वैशाख २ गतेदेखि आजसम्म सम्पदा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनायो । प्रत्येक वर्ष अप्रिल १८ का दिन यो दिवस मनाइन्छ ।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर