Aamsanchar

नेकाबाट दुईलाई कारवाही सिफारिस

Author Image
आइतवार, वैशाख ९, २०७५

दमक।

असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै नेपाली कांग्रेस कमल गाउँसमितिले एक जना महासमिति सदस्यसहित दुई जनालाई कारवाहीको सिफारिस गरेको छ ।

गाउँ समिति सभापति खगेन्द्र भण्डारीको सभापतित्वमा शनिबार बसेको समितिको पूर्ण बैठकले महासमिति सदस्य कमल गाउँपालिका वडा नं. ५का टीकाराज सापकोटा र वडा नं. ३ का क्रियाशील सदस्य पृथ्वीध्वज डाँगीलाई कारवाही गर्न पार्टीको क्षेत्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सभापति भण्डारी र सचिव महेन्द्र बुढाथोकीले हस्ताक्षर गरी पार्टीको क्षेत्रीय समिति, झापा क्षेत्र नं. ५लाई पठाएको सिफारिस पत्रमा गएको स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन सापकोटा र डाँगीको परिवारसहितले भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । गाउँ समितिले निर्वाचनमा नकारात्मक भूमिका निर्वाह गरेको प्रमाण समेत रहेको पत्रमा उल्लेख छ ।

पत्रमा पार्टीको सम्बन्धित वडा समितिले कारवाहीका लागि माग गरेको र सो बिषयमा सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण सोद्धा चित्त बुझ्दो जवाफ नआएको कारण साधारण सदस्य समेत नरहने गरी कारवाहीको सिफारिस गर्ने निर्णय गरिएको उल्लेख छ । बैठकले सम्बन्धित वडा समितिहरुलाई समेत कारवाहीको सिफारिसमा परेकाहरुको सदस्यता नवीकरण समेत नगर्न निर्देशन गरेको जनाइएको छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर