Aamsanchar

कचनकवललाई डुबानबाट बचाइँदै

Author Image
सोमवार, वैशाख १०, २०७५

भद्रपुर।

दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई बाढीबाट बचाउन तटबन्धन निर्माण गरिँदैछ । भारतले बनाएको सडकसहितको अग्लो तटबन्धनका कारण बर्षेनि डुबानको चपेटामा पर्दै आएको सो गाउँपालिकालाई बाढीबाट बचाउन कचनकवल गाउँपालिकाले तबबन्धन निर्माण कार्यलाई तीब्रता दिएको हो ।

भारतको बिहार राज्य किसनगञ्ज जिल्ला सीमावर्ती नाकासँग जोडिएको सो गाउँपालिकामा मेची नदी र देउनिया खोला बग्दै आएको छ । बर्खाको समयमा पानीको चाप बढेसँगै मेची र देउनियाको पानी भारतले लगाएको तबन्धनका कारण बाहिरजान नपाउँदा बिगत तीन बर्षदेखि कचनकवल गाउँपालिका डुबानमा पर्दै आएको स्थानीय बताउँछन् ।

साविक केचना गाविस ७ र ८ हाल कचनकवल गाउँपालिका–४ स्थित बयरबारीका करिब दुई दर्जन भन्दा बढी घरपरिवार डुबानमा पर्दै आएको तटबन्धन निर्माण समितिका अध्यक्ष कौशार आलमले जानकारी दिए ।

मेची नदीमा बाढी आएपछि पाठामारी क्षेत्रबाट आएर बयरबारी बस्तीसँग बग्ने देउनिया खोलामा प्रवेश गर्ने र दुवै खोलाको बाढीले गाउँ घर डुबान पार्दै आएको आलमले बताए । उनले भने– ‘गतबर्ष देउनिया खोलामा लगाइएको माटोको तटबन्धन दुई ठाँउमा भत्काएर गाउँमा बाढीमा प्रवेश गरेपछि पूरै गाउँ जलमग्न भएको थियो ।’ बाढी पीडितलाई सुरक्षित स्थानतर्फ लैजान स्थानीय प्रहरी प्रशासनलाई समस्या परेको थियो– उनले भने– ‘त्यसैले यसबर्ष कचनकवल गाउँपालिकाले छुट्याएको बजेटबाट माटोको अग्लो तटबन्धन निर्माण गरेका छौं ।’

बाढीबाट घरपरिवार जोगाउन यसबर्ष यसक्षेत्रमा माटोको तटबन्धन निर्माणका लागि ७ लाख रुपैयाँ बजेट निकासा गरेको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । ७ सय मिटर लम्बाइ रहेको तटबन्धनलाई देउनिया खोला वरिपरि घेरेर बनाएका छौ– उनले भने– ‘एक सय मिटर थप गर्ने योजना छ र ठाउँ÷ठाउँ ढुंगाको तटबन्धन पनि निर्माण गर्छौ ।’ मेची नदीको ओभर फ्लो पानी देउनिया खोलामा आउने गरेकोले यस तटबन्धनले बस्तीलाई बाढीबाट जोगाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

त्यसैगरी देउनिया खोलामा मेची नदीको बाढी आउन नदिनलाई पाठामारी र भैंसाबाडीमा ढुंगाको तटबन्धन निर्माण कार्य धमाधम निर्माण भइरहेको झापा क्षेत्र नम्बर ३बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले बताए । सो क्षेत्रमा तबटन्धन निर्माण भएपछि नेपालकै होचो स्थान कचनकचव डुबानको चपेटाबाट मुक्त हुने लिङ्देनको भनाइ छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर