दमक।

नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर भारतीय मालवाहक ट्रकहरु ‘रुट परमिट’ बेगर नै पूर्व–पश्चिम राजमार्ग हुँदै बीरगञ्जसम्म पुग्ने गरेको पाइएको छ ।

भारतबाट पूर्वी नाका काँकरभिट्टा हुँदै कोइला, जिप्सन लगायतका कच्चा पदार्थहरु लिएर नेपाल आउने मालवाहक सवारी साधनहरुले रुट परमिट नै नलिइ आवत–जावत गर्ने गरेको पाइएको हो ।
झापामा यही बिषयमा शुक्रवार सडकमा मालवाहक ट्रक चलाउने भारतीय चालकहरु र सडकमा रहेका ट्राफिकहरुबीच बिबाद उत्पन्न भएर दुई घण्टासम्म सडकमा नै सातवटा मालवाहक सवारी साधनहरु रोकिएपछि यस्तो रहस्य बाहिर आएको हो । जरिवाना तिरेपछि ती ट्रकहरु दिउँसो १ बजे छाडिएको थियो । इजाजत बेगर नै बिर्तामोडदेखि झण्डै २८ किलोमिटरमा पर्ने कमल गाउँपालिकाको पाडाजुंगी र रतुवाखोलाको बीचमा ट्राफिक प्रहरीले ती सवारीहरु रोकेको थियो ।

जिप्सन बोकेर आएका मालवाहक ट्रकहरुलाई ट्राफिक प्रहरीले एउटा मालवाहक सवारी साधनको १५ सय जरिवाना गराउन खोजेपछि चालकहरुले आफूहरु चारदेखि पाँच सय रुपैयाँभन्दा बढी नतिर्ने भन्दै निँहु खोजेको ट्राफिक प्रहरी स्रोतले बताएको छ । अनिवार्य रुपमा रुट परमिट लिएर कुदाउनुपर्नेमा त्यो नगरेपछि ट्राफिकले अधिकतम् जरिवाना गराउन खोज्दा बिबाद भएको स्रोतको भनाइ छ ।
प्रत्येक दिन धेरैको संख्यामा रातको समयमा यसरी रुट परमिट बेगर मालबाहक ट्रकहरु आउने गरे पनि सो दिन दिउँसो नै आएपछि ट्राफिकले रोकेको थियो । रुट इजाजत यातायात व्यवस्था कार्यालय मेचीले दिनुपर्ने र त्यो नलिएको पाइएकाले जरिवाना गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफूहरुले अधिकतम् १५ सय जरिवाना गराउने अधिकार रहेकाले त्यसै अनुसार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए ।
राति अबेरसम्म पनि ट्राफिक प्रहरीको चेकपोष्टहरुले यस बिषयमा जाँच गर्ने गरेको बताउँदै उनले रुट इजाजत नलिई कुदेका भारतीय मालवाहक ट्रकहरु रोकेर जरिवाना गराउने काम यसभन्दा अगाडि पनि हुँदै आएको बताए । उनले भने– हामीले देखे र भेटेसम्म जाँच गरेर जरिवाना गराएर छाड्ने गरेका छौ ।

