Aamsanchar

होमस्टेदेखि संग्रहालय निर्माणसम्मका योजना

Author Image
सोमवार, वैशाख १०, २०७५

दमक।

जिल्ला समन्वय समिति झापाले स्थानीय तहहरुसँग परामर्शपछि पुराना लोपन्मुख तथा सिमान्तकृत जातजातिहरुको संरक्षण र सम्बद्र्धनसहित पर्यटनमा आधारित कार्यक्रमहरु अघि सारेको छ ।

होमस्टेदेखि संग्रहालय निर्माणसम्मका योजनाहरु अघि सारेको पाइएको हो । कन्काई नगर पालिकामामा कोच राजवंशी, कचनकवलमा गन्धर्व, हल्दीबारी गाउँपािलकामा मेचे, झापा गाउँपालिका सन्थाल, मेचीनगर नगरपालिकामा लोपोन्मुख किसान, दमक नगरपालिकामा धिमाल जातिको होमस्टेसहित सांस्कृतिक संग्रहालय स्थापना गरी सांस्कृतिक पर्यटनको विकास गर्न सकिने देखिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

यसले पछाडि परेका समुदायहरुको आत्मसम्मान बृद्धि हुने र आन्तरिक एवम् बाह्य पर्यटनको प्रवद्र्धन हुने अपेक्षा राखिएको पोर्तेलले बताए । कतिपय नगरपालिका तथा गाउँपालिकाहरुले आफै पनि यस प्रकारका जातजातिहरुका पहिचानमा आधारित संग्रहालय निर्माण शुरु गरिसकेको पाइन्छ ।

दमक नगरपालिकाले यहाँ सबैभन्दा पुरानो मानिएको धिमाल जातिलाई पहिलो नागरिक घोषणासहित यस जातिको सम्मानका लागि गर्नुपर्ने काम तथा कार्यबिधि बनाउनका लागि लोकबहादुर धिमालको संयोजकत्वमा कार्यदल नै बनाएको छ । नगरपालिका कार्यालयमा रहेको कार्यदलले काम गरिरहेको धिमालले बताए ।

धिमाल जातिको पहिचानको प्रवद्र्धनसँगै पर्यटकीय बिकासका लागि धिमाल संग्र्रहालयको काम पनि तीव्र रुपमा अघि बढेको धिमाल बताउँछन् । जग्गा घेराबारा गर्नेदेखि लिएर संरचना बनाउनेसम्मका कामहरु भइरहेको उनले जानकारी दिए । नगरपालिकाले एक धिमाल पुरुष, एक महिला र एक बालकको शालिक बनाएर राख्न लागेको छ ।

जिल्ला समन्वय समिति झापाका सदस्य चन्द्र सुब्बाका अनुसार पूर्व–पश्चिम राजमार्गको आसपास १० किलोमिटर क्षेत्रमा न्यूनतम् पाँच सय जना अटाउने गरी संस्कृति र प्रकृतिमैत्री होमस्टे निर्माणको लागि आवश्यक अध्ययन शुरु भएको छ । बुद्धशान्ति गाउँपालिकाको ठुटेबर क्षेत्रमा बन्जीजम र ठुटेबर–पाथीभरा र धनुशकोटी–सतासीधाम केवलकार निर्माण र सञ्चालनका लागि पनि सम्भाब्यता अध्ययन गरिँदैछ । बुद्धशान्तिको सुनमाईबाट ठुटेबर जोड्ने नेपाल कै अग्लो झोलुङ्गेपुल निर्माण प्रस्ताव सरकारसँग गरिएको छ ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर