Aamsanchar

नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

Author Image
मङ्गलवार, वैशाख ११, २०७५

दमक, 

विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ ।

काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो ।

सो कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनका क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ ।

अध्ययनका क्रममा लाग्ने ती विद्यार्थीको रकम सबै पार्टीको कोषमार्फत परिचालन गर्ने व्यवस्था गरिएको नगर सभापति विष्टले बताउनुभयो । पार्टीको वडा समितिले सिफारिसका आधारमा उनीहरुले चाहेकै विद्यालयमा भर्ना गरिदिने तयारी गरिएको सभापति विष्टले बताउनुभयो ।

विद्यार्थी भर्नामा धमाधम प्रवेश लिइँदै 

यसैबीच, कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नपुगेर बन्द गरिरहनु परिरहेको अवस्थामा दमकमा रहेको हिमालय माविमा भने विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थी भर्ना हुन आउने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलाएकामा विद्यालयले धान्न सक्नेभन्दा धेरै विद्यार्थी भर्ना गर्न आउने गरेका छन् ।

यसपटक विद्यालयले कक्षा ९ मा ७५ जनाको कोटा खुलाएकोमा ३०० भन्दा धेरैले भर्ना फारम भरेका थिए । विद्यार्थी छनोटमा विद्यालयले अनिवार्य प्रवेश परीक्षा नै लिँदै आएको प्रधानाध्यापक विष्णुकान्त झाले बताउनुभयो ।

जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय ठहरिएको सो विद्यालयमा अधिकांश निजी छाडेर आउने गरेका छन् । अंग्रेजी माध्यमसहित गुणस्तरीय शैक्षिक पठनपाठन हुने भएका कारण विद्यार्थी भर्ना हुने चाप ह्वात्तै बढेको प्रअ झा बताउनुहुन्छ । विद्यालयमा दुई हजार हाराहारीमा विद्यार्थी रहेका छन् ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर