Aamsanchar

‘भारतबाट आउनेहरुका कारण चुनौति’

Author Image
बिहिवार, वैशाख १३, २०७५

भद्रपुर।

भारतीय खुल्ला सीमासँग जोडिएको झापा जिल्लामा औलो रोग निवारणमा चुनौति थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सीमा क्षेत्रमा औलो रोग नियन्त्रणका लागि स्वास्थ्य चेकपोष्ट नहुनु र भारतीय स्वास्थ्य संस्थाले नेपालका स्वास्थ्य संस्थासँग समन्वय नगर्दा औलो रोग निवारणमा चुनौति थपिएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए ।

हाम्रो सक्रियता, औलो निवारण सफलता भन्ने नाराका साथ विश्व औलो दिवसको अवसरमा बुधवार जनस्वास्थ्य कार्यालय झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यालय प्रमुख कोइरालाले सन् २०२५सम्ममा नेपाललाई औलो रोग निवारण गर्ने योजनाका साथ सरकार अघि बढे पनि खुल्ला सीमा मुख्य चुनौति रहेको बताए ।

विगत ५ बर्षको तुलनामा झापामा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोग क्रमशः घटदै गएको छ । तर, भारतबाट आउने औलो संक्रमितहरुबाट समस्या थपिँदै गएको जनस्वास्थ्यका औलो शाखाका कर्मचारी बेदप्रसाद घिमिरेले बताए । स्थानीय तह तथा प्रदेश सरकारले रोग निवारणका लागि आवश्यक कानून, समन्वय तथा जनसहभागितामूलक कार्यक्रम नल्याए सीमा क्षेत्रका नेपालका जिल्लामा यस्ता किसिमका रोग नियन्त्रणमा नहुने उनले बताए ।

२०७४÷०७५मा गरेको सर्वेमा जिल्लामा ४ जना भारतबाट आएका रोगी फेला परेका थिए । कार्यालयले शंका लागेर १८ सय जनामाथि गरेको औलो परीक्षणमा बाहिरबाट झापा आउने चार जना नागरिकमा मात्र औलो रोग देखा परेको जनस्वास्थ्यका भेक्ट्रोल कन्ट्रोल जीवन चौलागाँईले जानकारी दिए । झापामा औलो रोगी देखा नपरे पनि बाहिरबाट आएर यतै बसेका बिरामीमा यो रोग देखा परेको उनले बताए । झापाको बाहुनडाँगी, मेचीनगर र पृथ्वीनगर औलो रोग प्रभावित क्षेत्र भएकाले त्यहाँका गर्भवती महिलालाई ७ सय झुल वितरण गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर