तराइमा विद्यमान रहेको दाईजो प्रथाको कथा उठान गरेर निर्माण गरिएको चलचित्र ‘भोर’ को बिशेष प्रदर्शनी राजधानीमा गरिएको छ। राजनीजिज्ञ देखि मानवअधिकार कार्मी सम्मलाई निम्ता दिइएको शोमा चलचित्र हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पुर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणी पौडेल, एमाले नेतृ विन्दा पाण्डे, पुर्व मन्त्री हिसिला यामीसँगै सयबढि मानवअधिकारकर्मी, विधार्थी नेताहरु चलचित्र हेर्न उपस्थित थिए । चलचित्र हेरिरहदा धेरै महिला अधिकारकर्मीले आँखा रसाएको प्रतिक्रिया दिएका छन्। पुर्व प्रधानमन्त्रि माघवकुमार नेपालले चलचित्रले समाजमा जरो गाडेर बसेको दाईजो प्रथाको विकृतिलाई राम्रो ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
मधेसमा रहेको दाईजो प्रथा विरुद्ध जनचेतना जगाउन चलचित्रले राम्रो भूमिका खेल्ने हेर्ने प्रायले प्रतिक्रिया दिएका थिए ।
बैशाख २१ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रलाई यादव प्रसाद भट्टराईले निर्देशन गरेका छन्। राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् । यसअघि ‘झोला’ले सफलता हासिल गरिसकेको छ ।