सीमा सुरक्षा प्रहरी कार्यालयका सशस्त्र प्रहरीको मिलेमतोमा झापाको सीमावर्ती नाकाबाट खुलेआम रुपमा गाईगोरु तस्करी भएको रहस्य सार्वजनिक भएको छ ।
सीमा सुरक्षा प्रहरी कार्यालय चन्द्रगढीलाई मासिक ५ लाख रुपैयाँ घुस खुवाएर गाईगोरु तस्करी हुने गरेको रहस्य पछिल्लो समय सार्वजनिक भएको हो । गौरीगञ्ज, झापा, केचना, सतीघट्टा नाकाबाट दिनहुँ ट्रकका ट्रक गाईगोरु तस्करी भए पनि सीमा सुरक्षा प्रहरी कार्यालय चन्द्रगढीले आर्थिक चलखेलका कारण पशुजन्य चौपाया नियन्त्रण नगरेको सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकले बताए ।
गौरीगञ्ज नाकाबाट सशस्त्र प्रहरीसहित जनपद प्रहरीको सेटिङमा पशुजन्य चौपाया भारत तस्करी हुने गरेको छ भने वोर्डर आउट पोष्ट सशस्त्र प्रहरी कार्यालय टाघनडुब्बा, घेराबारी, भद्रपुर र सतीघट्टाको सेटिङमा पशुजन्य चौपाया भारत निर्यात हुने गरेको बताइएको छ । स्रोतका अनुसार बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिकै मिलेमतोमा सशस्त्र प्रहरीलाई लाइन मिलाएर घेराबारी नाका हुँदै पशुजन्य चौपाया तस्कर हुने गरेको एक प्रहरी अधिकृतले बताए । उनले भने– चकचकीमा जम्मा गरेका चौपाया केचनकवल बजार नाका हुँदै भारत तस्करी हुने गरेको छ ।
स्रोतका अनुसार चकचकी बजारमा गोरु जम्मा गर्दै सीमावर्ती नाका घेराबारीबाट पशुजन्य चौपाया तस्करी हुने गरेको छ । जसबाट सीमा सुरक्षा कार्यालय टाघनडुब्बाले मासिक १० हजार रुपैयाँ लाइन लिने गरेको बताइएको छ । त्यसको प्रमुख नाइके बाह्रदशी गाउँपालिकाका वडा सदस्य रहेको र स्थानीय राजगढका एक व्यापारीसहित चकचकी र घैलाडुब्बाका व्यवसायीको मिलेमतो रहेको प्रहरी स्रोतको दावी छ । सो क्षेत्रबाट गोरुसँगै गाई समेत भारत निकासी हुँदै आएको स्रोतको दावी छ । स्थानीय एक व्यक्तिका अनुसार चकचकी, शरणामती र गौरीगञ्जमा गाईगोरु आयात हुने र ती गाईगोरु भारत निर्यात हुने गरेको बताइएको छ ।
त्यस्तै सतीघट्टा नाकामा समेत सशस्त्र प्रहरीकै मिलेमतोमा गाईगोरु निर्यात हुने गरेको बताइएको छ । भद्रपुर नाकाबाट समेत प्रहरीको मिलेमतोमा पशुजन्य चौपाया निर्यात हुँदै आएको प्रहरी स्रोतको दावी छ । राजगढका एक जनप्रतिनिधि यसअघि गोरु तस्करीमा संलग्न रहेको र उनी जनप्रतिनिधि भए लगत्तै सो काम स्थानीय एक व्यक्तिलाई जिम्मा लगाएर चकचकी बजारमा गोरु जम्मा गर्दै भारतीय व्यापारीसँग मिलेमतोमा गाईगोरु तस्करी गर्ने गरेको बताइएको छ । सो वापत भारतीय सीमा सुरक्षा बल एसएसवीलाई तीन लाख भारतीय रुपैयाँ र सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालयलाई पाँच लाख रुपैयाँ कमिशन दिने गरेको स्रोतको दावी छ ।
भारतमा नेपालबाट जाने पशु चौपाया रोक लगाए पनि भारतीय सीमा सुरक्षा बलकै सेटिङमा तस्करी हुने गरेको बताइएको छ । आर्थिक चलखेलका कारण भारतीय सुरक्षाकर्मीका अधिकृतहरु १५÷१५ दिनमा परिवर्तित हुने गरेको र नेपाल सीमा सुरक्षा बलले आर्थिक हिसाबकिताब मिलान गर्ने गरेको बताइएको छ । कानूनतः भन्सार गरेर एक सय १२ रुपैयाँ तिरेर गोरु भारत निर्यात गर्न पाइन्छ, तर गाई निर्यातका लागि भने प्रतिबन्ध छ । गाईगोरु तस्करीमा संलग्नले भन्सारै नगरी छोटी नाकाबाट गाईगोरु खुलेआम तस्करी गर्दा समेत प्रहरी मौन छ । भारतमा गाई निर्यात गर्न प्रतिबन्ध भए पनि गोरुको लटमा मिलाएर गाई तस्करी गर्ने गरेको पाइएको छ । प्रहरीकै सेटिङका कारण गाई निर्यात गर्दा समेत सम्बन्धित निकाय बेखबर रहेको स्थानीयको आरोप छ । प्रतिदिन यी नाकाबाट ट्रकका ट्रक गाईगोरु निर्यात हुने गरेको बताइएको छ ।
एक गोरु, एक सय रुपैया“
तस्करीमा संलग्नले स्थानीय बजारको नाममा गाईगोरु भारत निर्यात गर्ने गरेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुले स्थानीय बजारलाई देखाएर गाईगोरु भारत निर्यात गर्ने गरेका छन् । सीमावर्ती बजारमा पशु चौपायाको खरिद विक्री हुने गरेको जनाउँदै गाईगोरु निर्यात गर्ने गरेका हुन् ।
पछिल्लो समय झापा गाउँपालिकामा पशुचौपायाको खरिद विक्री केन्द्र सञ्चालनमा रहेको जनाउँदै शरणामतीबाट गाईगोरु निर्यात हुने गरेको बताइएको छ । यसअघि केचना र गौरीगञ्जमा रहेको पशुहाटका नाममा खुलेआम रुपमा गाईगोरु तस्करी हुने गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । केचना बजारका लागि भन्दै लक्ष्मीपुर, घैलाडुब्बा, चकचकी, राजगढको बाटो हुँदै पशुचौपाया निर्यात हुने गरेको छ । ती चौपाया केचना हुँदै सोझै भारत निर्यात हुने गरेको छ । जनपद प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा पशुचौपाया निर्यात हुँदा समेत स्थानीय निकाय मौन छ ।
यता शरणामतीस्थित कामाटोली बजार पश्चिममा रहेको एक गाउँमा पशुचौपाया संकलन गरेर सीमा सुरक्षा प्रहरी बल टाघनडुब्बाकै मिलेमतोमा दिगलबैंक नाका हुँदै पशुचौपाया भारत निर्यात हुने गरेको बताइएको छ ।
‘सशस्त्र प्रहरीले पैसा खाएको छैन’
सीमा सुरक्षा प्रहरी बल सीमा सुरक्षा कार्यालय चन्द्रगढीका एसपी रमेश सुवेदीले पशु चौपायाको नाममा सशस्त्र प्रहरीले घुस नखाएको बताएका छन् ।
पूर्वाञ्चलसँगको कुराकानीमा उनले मातहतका निकायमार्फत त्यस्तो भएको हुन सक्ने प्रति आफू सजग रहँदै सूचनाका लागि धन्यवाद दिए । उनले आफू मातहतका निकायमा यदि त्यस्तो पाइए उनीहरुलाई तत्काल कार्वाही गर्ने जनाएका छन् । उनले पूर्वाञ्चलसँग भने– आफू समक्ष यस विषयमा केही जानकारी नआएको र यदि त्यस्तो थाह पाए उनीहरुलाई तत्काल कार्वाही गर्नेछु ।
गाई र गोरु चिन्दैन प्रहरी
प्रहरीको सेटिङमा खुलेआम रुपमा गाईगोरुको भारत तस्कर हुँदै आए पनि प्रहरीले गोरुकै दर्जामा घुस खाएर खुलेआम रुपमा गाई समेत भारत निर्यात गर्न सघाउँदै आएको छ । प्रहरी स्रोतका अनुसार प्रहरीका उच्च अधिकारीको सहयोगमा खुलेआम रुपमा गाई समेत तस्करी हुँदै आएको छ ।
स्रोत भन्छ– पश्चिम नेपालबाट खरिद गरी ल्याएका पशु चौपाया गोरुकै लटमा छोटी भन्सार नभएका ठाउँबाट तस्कर हुँदा समेत स्थानीय प्रशासन गोरुको निकासी कर उठाउन सक्रिय छ भने स्थानीय प्रहरी लाइनमै व्यस्त छ । खुलेआम रुपमा गाईको तस्करी भए पनि नियमनकारी निकाय सशस्त्र प्रहरी र जनपद प्रहरीले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी मेची भन्सार कार्यालय भद्रपुरलाई चौपायासहित बुझाउनुपर्नेमा आर्थिक प्रलोभनमा परेर पशु चौपाया नबुझाउने गरेको बताइएको छ ।