सागर गौतम
खुदुनाबारी । पछिल्लो समय दुर्लभ हुँदै गएको आरन पेशाबाट एक व्यक्तिले राम्रो आम्दानी गरिरेहका छन् ।
कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा दुर्लभ हुँदै गएको बेला मोरङको साविक दर्बेेसा गाविस–८ दोबानाका ३८ वर्षीय इन्द्रताज सेप आरन पेशाबाट राम्रो आम्दानी गरिरहेका छन् । यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने अत्यन्तै राम्रो आम्दानी हुने उदारहण प्रस्तुत गरेका छन् सेपले ।
बाउबाजेको पालादेखि घरमै आरन पेशा गर्दै आएका सेपलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालिम लिनु परेन । उनले आफ्ना दाजु १२ वर्षको उमेरदेखि नै सँगसँगै काम गर्दै यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । उनले आरन उद्योग सञ्चालन गरी फलाम, तामा र सिल्भरका विभिन्न आकर्षक डिजाइनका भाँडाकुँडा, लोटा, डाडु, पन्यु, डेक्ची, कराई, लगायतका घरायसी भान्सा सामग्री बनाउने गरेका छन् ।
यो व्यवसायबाट उनले तीन हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए । सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी सेपको भनाई छ । म सहित चारजना सहयोगी छन् । जनशक्ति पाउन गाह्रो भएर सात वर्षदेखि व्यवसाय बन्द रहेको उनले बताए ।
उनले भने– ‘मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ ।’ कुनै तालिम बिना सिपले पनि आफू आत्मनिर्भर बन्न सफल भएको उनको दाबी छ । सेपले पछिल्लो समय नेपालमा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताए ।
परम्परागत रुपमा आफ्नै पिता पुर्खाले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँमा स्वरोजगार बन्न सकिने उनले बताए । आरन पेशा व्यावसायिक बनेपछि अहिले घर खर्च चलाउन कुनै चिन्ता नभएको उनी बताउँछन् । सेपका अनुसार आरन पेशाको समुदायमा अत्यन्तै महत्व हुने भन्दै विभिन्न समयमा अन्नपात गोडमेल गर्नको लागि नयाँ कुटो कोदालो बनाउनेहरुको घुइँचो लाग्ने गर्दछ । अहिले उनी अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वनको छेउमा यो व्यवसाय सञ्चालन गरिरहेका छन् । अर्का आरन व्यवसायी बसिर महम्मद भन्छन्– ‘धेरै कमाउने मनसायले कोही विदेश कोही कता हराउन थालेका छन् ।’ यो पेशालाई जोगाउन र आफ्नो घरखर्च चलाउन पनि आरन पेशालाई व्यवसायिकता दिने गरेको उनले बताए ।
मोरङ जिल्लाका ग्रामीण क्षेत्रमा दलित समुदायले मात्रै आरन पेशा अँगाल्दै आएका छन् । लामो समयदेखि व्यावसायिक बन्न नसकेका मुश्लिम समुदायहरु अहिले चेतनाको विकाससँगै परम्परागत पेशाबाटै मनग्य आम्दानी गर्ने गरेका छन् । धन कमाउन विदेशमा भौतारिनुपर्ने स्थिती छैन । यता आरन व्यवसायी कान महम्मद भने भाँडाकुँडा बनाएरै घर खर्च राम्रोसँग चल्ने बताउँछन् । सरकारले आरन पेशालाई आधुनिकरण गर्न सके आम्दानीको मुख्य स्रोत हुने उनको आशा छ । उनले भने– ‘भाँडाकुँडा बनाइ दिएवापत थोरै अन्न लिने गरिन्थ्यो । तर, अहिले नगदमै कारोबार हुन्छ ।’ अहिले उनीहरु सिजन अनुसार दैनिक तीन हजार रुपैयाँदेखि माथि आम्दानी गर्ने गरेको बताउँछन् । पछिल्लो समय चेतनास्तरमा विकास हुँदै गएपछि मुश्लिम समुदायले खलो प्रथा छोडेर आर्थिक कारोबारले व्यवसायिक बन्दै गएका छन् । रोजगारी छैन भन्दै विदेशमा श्रम गरेर पसिना बगाउन जाने युवाले यी व्यवसायीबाट पाठ सिक्न जरुरी रहेको जुकेखाडी निवासी सोम काफ्ले बताउँछन् ।
पुर्खाैली पेशालाई व्यवसायिकता दिन त्यस सम्बन्धी तालिमको आवश्यकता भएको आरन व्यवसायी बताउँछन् । पुरानै शैलीबाट भाडाकुँडा, बनाउँदा निकै समय लाग्ने धुलो धँुवामा धेरै समय बिताउनुपर्ने हुँदा आफूहरुलाई तालिम दिनुपर्ने उनीहरु बताउँछन् । स्थानीय सरकारले पनि देशमा रोजगारी सिर्जना गर्नका लागि यस पेशाको व्यवसायिक तालिम सञ्चालन गरी साना व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरु बताउँछन् । दलित समुदायले गर्ने उक्त व्यवसायलाई फराकिलो बनाई गाउँ टोलमा रोजगारी सिर्जना गर्न समयसापेक्ष तालिमको आवश्यक रहेको छ ।


