Aamsanchar

अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुन निर्देशन

Author Image
शुक्रवार, वैशाख १४, २०७५

बुटवल,

गृहमन्त्री रामबहादुर थापाले केही तत्व देशमा अस्थिरता निम्त्याउन उद्यत रहेकाले उनीहरूलाई निस्तेज पार्ने गरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापाले आज प्रदेश ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देशमा अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिँदै भन्नुभयो, “समस्याको व्याख्या गर्ने होइन, त्यसविरुद्ध एक्सन गर्नुहोस् ।”

उहाँले धर्म, विभिन्न जातजाति र बादका नाममा अस्थिरता निम्त्याउने प्रयत्न भइरहेकाले यस्ता क्रियाकलापको सूक्ष्म रुपले अध्ययन गरेर कारवाही बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले २०६७ सालमै एकाधिकार खारेज गर्न सरकारलाई आदेश दिए पनि कार्यान्वयन नगरेकाले वर्तमान सरकारले सोही फैसलालाई मात्र कार्यान्वयन गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश ५ का सीमा नाकाबाट विगतदेखि नै तस्करी हुने गरेको आफूलाई सूचना आएको छ भन्दै अब त्यस्ता गतिविधि कदापि स्वीकार्य हुन नसक्ने बताउनुभयो ।

गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको शान्ति सुरक्षामा गुणात्मक परिवर्तन ल्याउन गोष्ठीले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

गृह मन्त्रालय, शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख रामकृष्ण सुवेदीले देशको समग्र सुरक्षा अवस्थालाई व्यवस्थित गर्न मन्त्रालयले जारी गरेको ८२ बुँदे कार्ययोजना कडाइका साथ लागु गर्नका लागि सबैलाई आआफ्ना क्षेत्रबाट लाग्न अनुरोध गर्नुभयो ।

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठक, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेना युद्धकार्य महानिर्देशनालयका प्रमुख शरद गिरीले शान्तिसुरक्षाको वर्तमान अवस्था र आगामी दिनमा कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा धारणा राख्नुभएको थियो ।

मन्त्रालयले देशका सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरी सुरक्षा रणनीति बनाउने उद्देश्यका आज प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देहीमा गोष्ठी आयोजना गरिएको हो । गृहमन्त्री थापाले आजै शनिबारदेखि लुम्बिनीमा शुरु हुने दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र वैशाख १७ गते मनाइने दुई हजार ५६२ आँै बुद्ध जयन्तीको तयारी र सम्पूर्ण सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर