२४ घण्टे बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्वास्थ्य संस्था हुनुपर्छ । जहाँ एसवीए तालिम प्राप्त नर्सिङ कर्मचारीसहित फर्निचर र उपकरण हुनैपर्छ । त्यस्तै बिरामीका लागि बेड, डेलिभरी वेड, डेलिभरी सेट, अटो क्लेभ (औजार निर्मलीकरणका लागि चाहिने मेसिन) आवश्यक पर्छ ।
योसँगै सफा र उज्यालो कोठा, प्रत्येक उपकरणलाई क्लोरिनेशन गर्नुपर्ने हुन्छ । प्रसूति कक्षमा एटेच ट्वाइलेट वाथरुम हुनुपर्छ भने प्लासेन्टा पिट (साथी फ्याक्ने ठाउँ) भवन नजिकै हुनुपर्छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सूचीकृत भएको स्वास्थ्य संस्थामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न पाइने कानूनी प्रावधान छ । यसका लागि सरकारले छुट्टै लगानी गरेको हुन्छ ।
तर, झापामा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाले यी मापदण्ड पूरा नगरी बर्थिङ सेन्टर सञ्चालन गरिरहेका छन् भने कतिपय स्वास्थ्य संस्थामा कर्मचारी नै नबस्ने गरेको पाइएको छ । जसमध्ये इलाका स्वास्थ्य चौकी राजगढमा रहेको वर्थिङ सेन्टर नाम मात्रैको छ । स्वास्थ्यकर्मी नै स्वास्थ्य संस्थामा नबस्दा बर्थिङ सेन्टर नाममै सीमित भएको छ । गर्भवती जाँचका लागि महिलाहरु इलाका स्वास्थ्य चौकी जाने गरे पनि गुणस्तरीय सेवा नपाएका कारण इलाका स्वास्थ्य चौकी राजगढमा रहेको बर्थिङ सेन्टरमा प्रसूतिका लागि विरलै मात्र सेवाग्राही जाने गरेको बताइन्छ ।
आमसञ्चारले यसअघि नै बर्थिङ सेन्टरका विषयमा समाचार प्रकाशन गरे पनि सो स्वास्थ्य संस्थामा सहज रुपमा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । स्वास्थ्य संस्थाको साँधुरो एक कोठालाई वर्थिङ सेन्टर बनाइएको छ । जहाँ आवश्यक केही पनि उपकरण छैनन् । प्रसूति कोठामा अक्सिजन अनिवार्य हुन्छ । त्यस्तै डेलिभरी वेड भए पनि फोहोरैफोहोर छ । प्रसूति कक्षमा एटेच ट्वाइलेट वाथरुम नै छैन । स्वास्थ्य संस्थामा प्लासेन्टा पिट (साथी फ्याँक्ने ठाउँ) भवन नजिकै हुनुपर्नेमा त्यो समेत छैन ।
स्वास्थ्य संस्थामा २४ घण्टे सेवाका लागि अनमीको दरवन्दी भए पनि दुई जना अनमी काजमा अन्यत्रै गएको आमसञ्चारले समाचार प्रकाशन गरेपछि मेची अञ्चल अस्पताल भद्रपुरमा काजमा रहेकी शर्मिला घिमिरेको काज फिर्ता भएको छ । उनलाई काज फिर्ता गराउन गाउँपालिकाले तलब नै रोक्का गरेको थियो । त्यस्तै पवित्रा संग्रौला पनि काजमा अनारमनी गएकोमा उनको पनि गाउँपालिकाले तलब रोकेको छ । उनी आइतवारबाट इलाका स्वास्थ्य चौकी राजगढ फर्किने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष यादव मिश्रले बताए ।
स्वास्थ्य संस्थामा सिनियर अहेव खेमराज साहसहित अन्य तीन जना अहेवको दरवन्दी रहेकोमा अहेव नरेन्द्र मण्डल मात्रै कार्यरत् छन् । इलाका स्वास्थ्य चौकी राजगढमा तीनजनै अनमीको दरवन्दी छ । गाउँपालिकाको निजी श्रोतबाट पनि स्वास्थ्य संस्थामा एक जना अनमी राखिएको छ । निजी श्रोतवाट राखिएकी अनमी मञ्जु तामाङले मात्रै नियमित सेवा दिँदै आएकी छिन् । उनी मात्रै कार्यालयमा नियमित भेटिने गरेको स्थानीयको भनाइ छ । त्यस्तै अनमी तामाङसहित राष्ट्रिय योजना आयोगबाट काजमा खटिएकी मनिषा आङ्वो मात्रै नियमित स्वास्थ्य संस्था आउने गरेको बताइएको छ ।
यसअघि स्वास्थ्य संस्थामा एक जना पनि स्वास्थकर्मी नभएपछि आमसञ्चारले बिरामीको भरमा राजगढ स्वास्थ्य चौकी शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए लगत्तै गाउँपालिकाले सवै स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधे पनि स्वास्थ्य संस्थाको सेवा अझै नसुधारेको स्थानीय खगेन्द्र ओझाले बताए । उनले भने– आफूले पटक–पटक स्वास्थ्य संस्थामा नियमित कर्मचारी नभेटिने गरेको गाउँपालिका र स्वास्थ्य संस्था प्रमुखलाई जानकारी गराए पनि त्यसको सुनुवाई भएको छैन ।
इलाका स्वास्थ्य चौकी राजगढमा सञ्चालित बर्थिङ सेन्टर जस्तै अन्य स्वास्थ्य संस्थाको अवस्था पनि त्यस्तै छ । यस अघि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा रहेको वर्थिङ सेन्टरमा पनि सेवा नियमित नभएको भन्दै समाचार प्रकाशन गरेपछि सो स्वास्थ्य संस्थाले सेवा सुधारेको थियो । बर्थिङ सेन्टरका लागि शान्तिनगर स्वास्थ्य चौकी जिल्लामै नमूना छ । यो स्वास्थ्य संस्थामा सञ्चालित बर्थिङ सेन्टरको अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट आउने गरेको बताइएको छ ।
झापामा शान्तिगरसहित धुलावारी, सुरुङ्गा, राजगढ, अनारमनी, चन्द्रगढी, शिवगञ्ज, तोपगाछी, गौरादह, कुमरखोद, महाभारा, शानिश्चरे, खुदुनावारी, दमक अस्पताल, मेची अञ्चल अस्पताल, बनियानी लगायतका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालित छन् ।
सरकारले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गर्न खोजे पनि सुत्केरी सामग्री अभावमा सरकारको सुरक्षित सुत्केरी नारामै सीमित छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्य सुरक्षित हुने भनिए पनि सुत्केरी सामग्रीको अभावमा झापाका अधिकांश वर्थिङ सेन्टर लथालिङ्ग छन् । जसका कारण आमा र नवजात शिशुको भविष्य जोखिममा रहने गरेको पाइएको छ । गाउँमै सञ्चालित स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि प्रभावकारी सेवा प्रवाह गर्न नसक्दा अधिकांश महिला सुरक्षित प्रसूतिका लागि निजी अस्पताल धाउने गरेका छन् ।
अझै विद्यार्थीकै भरमा उपचार
इलाका स्वास्थ्य चौकी राजगढमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अझै पनि सेवाग्राहीको उपचार बिद्यार्थीले गर्दै आएका छन् ।
लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा अध्ययनरत् विद्यार्थीले स्वास्थ्य संस्थामा आएका सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दै औषधि दिने गरेका हुन् । स्वास्थ्य संस्थामा सिनियर अहेव खेमराज साहसहित तीन जना अहेवको दरवन्दी छ । तर, सिनियर अहेव रामकुमार साह (छैठौं) जिल्ला समन्वय समितिको निर्णयबाट बाह्रदशी गाउँपालिकामा काजमा कार्यरत् छन् । त्यस्तै नवराज श्रेष्ठको सरुवापछि रित्त भएको दरवन्दीमा अझै पनि कोही स्वास्थ्यकर्मी नआउँदा सेवा प्रभावित भएको छ ।
यता बर्थिङ सेन्टर नियमित सञ्चालनका गाउँपालिकाले एक जना अनमी राख्ने भन्दै विज्ञापन गरेको छ तर, अहेवको विषयमा गाउँपालिकाले कुनै चासो राखेको छैन ।