Aamsanchar

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

Author Image
शनिवार, वैशाख १५, २०७५

ललितपुर, 

एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ ।

अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “तर हामीले उहाँहरुलाई अनुरोध गरिरहेका छौँ ।” भर्ना अभियान चलिरहँदा विद्यालय भने शिक्षित अभिभावकलाई लक्षित गर्न लागेको छ ।

आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावकका सन्तान बढिरहेको विद्यालयले जनाएको छ । शिक्षित अभिभावकले सन्तान सामुदायिक विद्यालयमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जाने थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढेलेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइनरहेछ भन्ने सन्देश फैलिन्छ ।” विद्यालयले स्थानीय निकायसँगको सहकार्यमा शिक्षित अभिभावकका सन्तान विद्यालय ल्याउन लागेको छ ।

विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्षदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर