Aamsanchar

वर्षाले गहुँबाली तयार पार्न समस्या

Author Image
शनिवार, वैशाख १५, २०७५

विराटनगर, 

गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन्

मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ ।

बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका हुन् ।

भिजेको बालीबाट निस्कने दानामा कालो दाग पनि बस्ने गरेको, वजन पनि घट्ने गरेको र खानमा स्वादिलोसमेत नहुने भएकाले किसानले उचित मूल्य नपाउने सम्भावना रहेको किसान रामेश्वर यादवले जानकारी गराउनुभयो ।

यसका साथै वर्षाका कारण तराई क्षेत्रमा गर्मीबाट राहतको अनुभूति भए पनि विराटनगरका अधिकांश सडक हिलाम्मे भएका छन् । यस महानगरपालिकाको अधिकांश सडक निर्माणाधीन अवस्थामा रहेका कारण सडक सामान्य वर्षामा पनि हिलाम्म हुने गरेको छ । तर पनि वर्षा भएपछि सर्वसाधारणले धुलोबाट राहत पाउने गर्छन् ।

Views: 132

प्रतिक्रिया (०)