Aamsanchar

‘समाजवाद आजको आवश्यकता’

Author Image
आइतवार, वैशाख १६, २०७५

मनिषा चम्लागाई/ बिर्तामोड ।

गौरीशंकर खड्का ‘राजेन्द्र’ स्मृति प्रतिष्ठान शनिबार आयोना गरेको नेपाली सन्दर्भमा समाजवाद कार्यक्रममा मोहनविक्रम सिंह, प्रदीप गिरि, हरी रोका, राम कार्की, टंक कार्कीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित् चारै जना जानकारले समाजवाद बारे आ–आफ्नो धारण राखे ।

समाजवादी चिन्तक एवम् कांग्रेस नेता प्रदीप गिरिले नीति बनाउँदा युवा हावी हुनु पर्नेमा जोड दिन्छन्, कार्यक्रममा पनि त्यसैमा जोड दिए । गिरिले अबको समय युवाको भएको मत राखे । युवालाई राजनीतिबाट अलग राखे समाजवाद स्थपना सम्भव नहुने उनले बताए । समाजवाद नै समग्र विकास भएको स्पष्ट पार्दै उनले युवालाई विदेश पलायन हुनबाट रोकेर मुलुकमा केही गर्न सक्ने बनाए मात्र समाजवादको परिकल्पना गर्न सकिने बताए । विकास र समृद्धिका बारेमा गहन अध्ययन गरेर अघि बढ्न सकेमात्र समाजवादको महसुस हुने धारण उनले राखे ।

अर्धभूमिगत नेता हुन्, सिंह । उनी पाको उमेरमा पनि समाजवादको व्यख्या मज्जाले गर्छन् । भनिन्छ, सिंह वीपी पछिका अर्का समाजवादका व्यख्यता हुन्, त्यही भएर सिंह र गिरिलाई एक ठाउँमा उभ्याइएको होला । कार्यक्रममा बोल्ने चारैजना जानकार र नेपाली राजनीतिका दर्विला खम्वा मानिन्छन् । राम झापाका सांसद भएकाले पनि उनी आउनु अनुभूति गर्न लायक विषय हो । रामलाई स्वयम् कम्युनिष्टहरु पनि भन्छन्, उनी विश्लेषक हुन् ।

गिरि पछि बोलेका सिंहले समाजवाद स्थानपना हुन लामो क्रान्तिकारी आन्दोलनको आवश्यकता रहने तर्क गरे । सिंहले विद्यमान अर्थ व्यवस्था सामन्ती भएको बताए । क्रान्तिकारी सोचको विकास, उच्च औद्योगिक विकास हुनु पर्ने आवश्यकता रहेको धारण राखे । अहिलेको समाज पुँजीवादी सीमाभित्र रहेको बताउँदै विभिन्न वर्गमाथि हुने गरेको शोषण, उत्पीडन, भेदभावको अन्त्य हुनु पर्ने उनको बुझाइ छ । त्यही भएर उनी अर्धभूमिगत बनेका होलान् ! वामपक्षधरहरुको विजयले समाजवाद उन्मुख कार्यक्रम र नीतिको कार्यन्वयन सम्भव भएको उनले दावी गरे । समाजवाद निर्माणमा दुई कुरा बाधक हुन सक्ने बताउँदै उनले भने, ‘इमान्दारिता र दृढ इच्छाशक्तिको आवश्यकता समाजवादका लागि छ ।’

सांसद राम कार्कीले समाजवादको विषयमा संसद अझै गम्भीर हुन नसकेको बताए । उनले संसदबाट समाजवाद गाँउसम्म नपुग्ने तर्क शनिबार अघि नै गरिसकेका थिए, सार्वजनिक कार्यक्रममा बोल्दा पनि उनको त्यही तर्कको झल्को आउथ्यो । कार्कीले आर्थिक, सामाजिक, राजनीतिक स्वतन्त्रता नै समाजवाद भएको बताउँदै यसको परिभाषा अपूर्ण भएको जनाए । समाजवाद स्थापनाका लागि पार्टीका नेता नभएर कार्यकर्ता चलयमान हुनु पर्ने तर्क कार्कीले राखे ।
युवा ठगिने क्रम बढेको उनले बताए । मेनपावरदेखि विदेशीभूमिसम्ममा ठगिने युवाको संख्या कम नभए समाजवाद निर्माणको कुनै अर्थ नहुने उनको दावी छ । नेताले गरेको गल्तीमाथि औँला ठड्याउन सक्नु नै समाजवाद हुने उनले जिकिर गरे ।

टंकले वर्ग र समाजबीच रहेको अन्तरविभेद हटाउन नसके समाजवाद स्थापना असम्भव हुने तर्क गरे । टंकले पुँजीवादीको एकल स्वामित्वबाट राष्ट्रको ध्यान समाज केन्द्रित हुनु पर्ने बताए । व्यापक पुँजी र औद्योगिक विकास नै समाजवादको आधार भएको उनले धारण राखे । कार्यपत्र प्रस्तुत गर्दै हरि रोकाले समाजवादबारे नेपाली बहस, समस्या कहाँबाट हुन्छ, संस्था र संस्थागत अवधारण, अन्तराष्ट्रिय क्षेत्रमा समाजवादबारे बहसका विषयमा बोलेका थिए । २० पृष्ट लामो नेपाली सन्दर्भमा समाजवाद नामक कार्यपत्र प्रस्तुत गर्दै रोकाले नवउद्दारवादी आर्थिक नीतिको अन्धपक्ष पोषणका कारण संसारमा मानिस गरिब हुनु परेको तर्क गरे ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर