Aamsanchar

मत माग्दै पत्रकार झापामा

Author Image
सोमवार, वैशाख १७, २०७५

बिर्तामोड।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १को आगामी बैशाख २२ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

निर्वाचनका लागि प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । तीनवटै संगठनले संयुक्त रुपमा श्रमजीवी र व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छन् ।

चुनाव प्रचारप्रसारका लागि आइतवार झापा आइपुगेको उम्मेदवारको टोलीले बिर्तामोडमा निर्वाचनलाई लिएर कार्यक्रम आयोजना गरेको थियो । श्रमजीवी र व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलबाट केही उम्मेदवार सर्वसम्मत निर्वाचित भइसकेका छन् भने केही पदमा चुनाव हुने भएको छ ।

श्रमजीवी र व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलबाट अध्यक्षमा विक्रम लुइँटेल, उपाध्यक्षमा सोमनाथ सुसेली, महिला उपाध्यक्षमा स्मीता निरौला, महासचिव विवेक गौतम, समावेशी सचिवमा बुद्धवीर राई रहेका छन् । खुल्ला सदस्यमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने ‘बिमल’, दीपेन्द्र गौतम, शशि कोइरालाले उम्मेदवारी दिएका छन् । त्यस्तै मधेशी सदस्यमा जयकृष्ण यादव र बम्हदेव यादवले उम्मेदवारी दिएका छन् ।

चुनाव प्रचारप्रसार समितिका सदस्य कृष्ण हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका सदस्य किशोरकुमार कार्की, मोहनकाजी न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा उम्मेदवारहरुले आ–आफ्ना प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले महासंघलाई सहभागिता मूलक, पारदर्शी र जवाफदेही नागरिक संस्थाका रुपमा स्थापित गर्ने, आम पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षालाई मुख्य प्राथमिकता दिने, श्रमजीवी पत्रकार ऐन र पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न पहल गर्ने, पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्ने जनाएका छन् ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर