Aamsanchar

१३ भुटानीलाई नेपाली नागरिकता !

Author Image
सोमवार, वैशाख १७, २०७५

झापा ।

झुटा बिवरण पेश गरी बंशजका आधारमा नेपाली नागरिकता लिने भुटानी नागरिकबिरुद्ध कानूनी कार्वाहीको माग गर्दै लिखित उजुरी परेको छ ।
गएको पुस ३ गते एकजना भूटानी शरणार्थी र केही भुटानी नागरिकले झुटा बिवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्दै स्थानीय देबेन्द्र खड्काले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका भए पनि अहिलेसम्म कुनै कार्वाही प्रक्रिया अघि बढेको छैन ।

खड्काले भुटानी शरणार्थी सहदेव बिष्टले सबिक धरमपुर–२बाट स्थानीय भक्त बहादुर बिष्टलाई नक्कली बाबु बनाई बंशजका आधारमा नागरिकता लिएको भन्दै उजुरी दिएका हुन् । सहदेब बिष्ट झापाको दमकस्थित भुटानी शरणार्थी शिबिरमा बस्दै आएका शरणार्थी कीर्तिबहादुर बिष्टका छोरा हुन् भने कीर्तिबहादुरको २०७३ साल असारमा शरणार्थी शिबिरमै मृत्यु भइसकेको छ । तर, सहदेवले केही कर्मचारी र नेताको सेटिङमा जिल्ला प्रशासन कार्यालय झापाबाट बंशजका आधारमा ९७७३०÷७३७७ नम्बरको नेपाली नागरिकता लिन सफल भएको पाइएको छ ।

यस्तै उनले सोही नागरिकताका आधारमा आफ्ना भाइहरु भुटानी नागरिक गोपाल र जीवन बिष्टलाई समेत नेपाली नागरिकता दिलाएको पाइएको छ । सहदेवले गोपाल र जीवन पनि भक्तबहादुरकै छोरा तथा आफ्नै सहोदर भाइहरु रहेको भन्दै २०६२ साल बैशाख ३० गते सनाखत गरी बंशजको नागरिकता दिलाएको पाइएको हो । उनले आफ्नो फर्जी नागरिकताको आधारमा जीवन, गोपालका र आफ्नै पत्नी कल्पनाका साथै छोराछोरीको समेत नागरिकता बनाइदिएका छन् । बंशजका आधारमा नेपाली नागरिकता लिएका गोपाल, जीवन र उनीहरुका परिवार अहिले पनि भुटानमै बस्दै आएका छन् भने सहदेव भने शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका गएको युएनएचसीआरको अभिलेखमा रहेको खुलेको छ ।

भुटानी नागरिक जीवन बिष्टसँग जिल्ला प्रशासन कार्यालय झापाले बंशजका आधारमा जारी गरेको ८२३१७९५६ नम्बरको नागरिकता रहेको प्रशासनको अभिलेखमा छ । जीवन र गोपालको नागरिकता लिँदा सहदेबले पोल खुल्ने डरले प्रहरी सर्जमिन र पञ्चकिर्ते मुचुल्का समेत गराएर जिल्ला प्रशासन कार्यालयमा पेश गरेको पाइएको छ । यो सबै कामका निम्ति तत्कालीन गाबिस सचिब लक्ष्मीप्रसाद तिम्सिनाले साथ दिएका थिए । उजुरीकर्ता खड्काले भने– ‘सहदेब एकजना गैह्रनागरिकलाई बंशजको आधारमा नागरिकता दिँदा अहिले त्यसैको आधारमा १३ वटा नागरिकता बनिसकेको छ । एउटै नागरिकताको आधारमा पूरै बिष्ट परिवारले नै नेपाली नागरिकता पाएका छन्, त्यसैले यसको छानबिन हुनुपर्छ ।’

उनले साबिकको धरमपुर गाबिसबाट २०६१ चैत्र ११ गते साबिकको शनिश्चरे गाबिस वडा नम्बर ९ मा बसाइँ सरेको कागजात बनाएर दर्ता गराएका र शनिश्चरेको ठेगाना राखी नक्कली बाबु भक्तबहादुरलाई समेत थाहा नदिई भाइहरु गोपाल र जीवनको नागरिकता दिलाएको पाइएको छ । शनिश्चरे गाबिसमा बिष्टले बसाइँसराई दर्ता गर्दा भक्तबहादुर र उनकी श्रीमतीसहित जम्मा १४ जनाको पारिवारिक बिवरण बुझाएका छन् । यसका आधारमा एकै परिवारका १२ जना भुटानी नागरिकले बंशजको आधारमा नागरिकता लिएको हुनसक्ने निवेदक खड्काको भनाइ छ ।

यता सबैको नागरिकतामा बाबुको नाम भएका भक्तबहादुर बिष्टलाई भने आफ्नो नामबाट यति धेरै नागरिकता जारी भएको समेत थाह छैन । हाल दमक–१३मा बस्दै आएका उनले सहदेब बिष्ट भुटानी नागरिक भएको र आफ्नो छोरो नभएको जान्दाजान्दै नागरिकता बनाएर गल्ती गरेको स्वीकार गरे पनि अरुको नागरिकता नबनाएको दाबी गरे । उनले आफ्नो मेघराज, इन्द्र र डिकबहादुर गरी ३ जना मात्रै छोराहरु रहेको समेत बताए ।
यता छानवीन गरी कार्वाही गर्नुपर्ने निकाय जिल्ला प्रशासन कार्यालय झापाले भने प्रमाणसहित उजुरी दिँदा पनि बिभिन्न बहानामा छानविन अघि नवढाएको उजुरीकर्ता खड्काले बताएका छन् । उनले प्रशासनका कर्मचारी, बिष्ट परिवार र केही नेताकोे बीचमा लाखांैको आर्थिक चलखेल भएको सूचना आफूले प्राप्त गरेकाले गृह मन्त्रालयमा उजुरी दिने तयारीमा आफू रहेको बताए ।

उनले बिगतमा पनि फर्जी कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकताका बारेमा छानबिन हुने डरले प्रशासन कार्यालयको ढड्डा समेत गायब भएकाले यसको समेत अभिलेख हराउन सक्ने भन्दै नागरिकता जस्तो संबेदनशिल बिषयमा गम्भीर हुन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् । उनले यति मात्र होइन झापामा झुठो बिवरण पेश गरेर नागरिकता लिनेको संख्या उल्लेख्य रहेकोले छानबिन गरी कानूनको दायरामा ल्याइनुपर्ने बताए ।
यता सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सो विषयमा आफूलाई थाह नभएको बताएका छन् । उनले पूर्वाञ्चलसँग कुराकानी गर्दै भने– यो विषयमा उजुरी पर्दैमा केही हुँदैन, परेको रहेछ भने हेरौला, सोमवार विदा भएकाले विदा पछि के रहेछ म बुझ्छु अनि भनौला ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)