झापा।

राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट कारोबार गरेको भन्दै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ ।

आइतवार बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच सहारा र शिखर सहकारीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश–१का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री आङ्वोले सहकारी क्षेत्र बचत र ऋणमा सीमित हुँदा अन्य व्यावसायिक क्षेत्रमा लगानीको आधार कमजोर भएको बताएका छन् ।

उनले सहकारीलाई उत्पादन र उद्यमसँग जोड्न आवश्यक रहेको बताए । मन्त्री आङ्वोले लामो समयपछि राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक सम्बृद्धिको बाटो पहिल्याउनुपर्नेमा जोड दिए । आङ्वोले सहकारी साझा व्यावसाय भएको धारणा राखे ।

‘सहकारी सानो पुँजी र निम्न आय भएका परिवारको जीवनस्तर सुधार्ने व्यवसाय हो’– उनले भने– ‘सरकारले सहकारीलाई तेस्रो आर्थिक खम्बाका रुपमा स्वीकारेको छ, अब यसको गुणात्मक विकासमा तपाईंहरुको योगदान आवश्यक छ ।’ मन्त्री आङ्वोले सहकारीलाई आर्थिक सम्बृद्धिको मजबुत आधार खम्बा भएको बताए ।
उनले सहकाकरीलाई सार्थक रुप दिनका लागि आर्थिक समृद्धि आवश्यक रहेको धारण राखे । प्रदेश सरकारले सहकारी ऐन निर्माणमा गर्दा सहकारी क्षेत्रबाट आवश्यक सल्लाह र सुझाव लिने प्रतिबद्धता आङ्वोले जनाए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीले सहकारी बैंक प्रगतिको अभियानमा निरन्तर लागीपरेको बताए । राष्ट्रिय रुपमा नै एकै प्रकारको सहकारी ऐनको आवश्यक रहेको उल्लेख गरेका उनले सहकारी क्षेत्र आर्थिक अभिभावकत्व ग्रहण गर्न सफल भएको जनाए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरीकुमार राना, उपप्रमुख कमला आर्चाय, सहकारी बैंकका प्रबन्धक सञ्चालक केवी उप्रेती, सञ्चालक रामबहादु जिसी,सरकारी बैंक बिर्तामोड शाखा प्रमुख सबिना बस्नेत, जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्र गिरी, संघका पूर्वअध्यक्ष हरिचरण बानियाँ लगायतले बोलेको जिल्ला संघका सहसचिव भवानीप्रसाद दंगालले बताए ।

