Aamsanchar

शौचालय निर्माण महाअभियानको निर्णय

Author Image
सोमवार, वैशाख १७, २०७५

भद्रपुर (झापा)
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले झापाका स्थानीय तहलाई यही बैशाख महिनाभित्र खुल्ला दिसामुक्त बनाउनका लागि महाअभियान चलाउने निर्णय गरेको छ ।
“शौचालय निर्माणलाई विद्यार्थी भर्नाजस्तै महाअभियानको रुपमा लिंदै बैशाख महिनाभित्रै सबै घरधुरीमा शौचालय निर्माणको सुनिश्चितता गर्नुपर्छ”, आइतबार आयोजना गरिएको समितिको बैठकमा अध्यक्ष सोमनाथ पोर्तेलले भने, “सबैजना सरसफाइका सरोकारवाला भएकोले सबैले बराबर चासो दिनुपर्छ ।”
खुल्ला दिसामुक्त अभियानको प्रभावकारिता वृद्धिका लागि शिक्षा क्षेत्रका सरोकारवालासहित आयोजना गरिएको बैठकमा विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै शौचालय गराउने परिपाटीलाई अन्त गर्नका लागि महिला र पुरुष शौचालयमात्र राखी विद्यार्थी र शिक्षकले साझा शौचालय प्रयोग गर्ने निर्णय गरिएको छ ।
यसैगरी, प्रत्येक विद्यालयले विहानको प्रार्थना समयमा अनिवार्य रुपमा शौचालय र सरसफाइको बारेमा सोधिखोजी गर्नका लागि स्थानीय तहहरुले प्रत्येक विद्यालयहरुलाई पत्राचार गर्न लगाउने समेत निर्णय गरिएको छ ।

विद्यार्थी भर्ना महाअभियानसँगै विद्यार्थी संगठन र शिक्षासँग सम्बन्धित पेशागत संघ संगठनहरुले समेत शौचालय निर्माण अभियानमा साथ दिने समेत निर्णय गरिएको छ ।
बैठकका सहभागीहरुले चर्पी नबनाउने शिक्षकहरुको तलव रोक्का गर्नुपर्ने माग गरे पनि श्रोत व्यक्ति तोया रेग्मीले शिक्षकहरुलाई चर्पी बनाउनका लागि आफूहरुले वाध्य पार्न नसक्ने बताए पनि अन्य श्रोत व्यक्तिहरुले खुल्ला दिसामुक्त अभियानलाई प्रभावकारी बनाउन शिक्षा क्षेत्रले नेतृत्वदायी भूमिका खेल्ने बताएका थिए ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले स्थानीय तहहरुको सरसफाइको अवस्था र विशेष सवालहरुको विवरण प्रस्तुत गर्दै समस्या समाधानका लागि विभिन्न सरोकारवालाहरुको भूमिका समेत प्रष्ट्याएका थिए ।

सगरमाथा सामुदायिक विकास केन्द्रका खुल्ला दिसामुक्त अभियान संयोजक सोमनाथ आचार्यले समुदायका जान्ने बुझ्ने व्यक्तिका कारण खुल्ला दिसामुक्त अभियान पछाडि परेको बताउँदै चर्पी नबनाउने शिक्षकहरु र कमजोर सरसफाइ अवस्था भएका विद्यालयहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।
अखिल क्रान्तिकारीका झापा जिल्ला अध्यक्ष अनिल सुवेदीले संस्थाहरुमा महिलामैत्री शौचालय निर्माण गर्नुपनर्नेमा जोड दिए ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर