Aamsanchar

सरकारद्धारा सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न कडा निर्देशन

Author Image
मङ्गलवार, असार १९, २०७५

बिर्तामोड ।

मनसुन सक्रिय भएसंगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ । निरन्त रुपमा वर्षा भइरहेकाले नदी किनार तथा आसपासका बासिन्दालाई उच्च सर्तकता अप्नाउन आग्रह गरिएको छ ।

झापाका सबै स्थानमा निगरानी बढाइएको बताइएको छ । रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु कुनै विपद् आएमा उद्धारका लागी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

यसैबीच गृह मन्त्रालयले झापासहित ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ। लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले बाढीपहिरोको विनाश बढ्दै जान थालेको र जिल्लामा उद्धार र राहतमा सक्रियता बढाउनु पर्ने भएकाले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर गरिएको जानकारी दिए । गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्र र सम्भावित जोखिमयुक्त जिल्लामा उद्धारका लागि हेलिकप्टर समेत तैनाथ गर्न नेपाली सेनालाई आग्रह गरेको छ।

‘विपद्बाट क्षति हुनासाथ उद्धार र राहत तत्काल पु¥याउन र त्यसमा कुनै कसर बाँकी नराख्न जिल्लामा विशेष निर्देशन दिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

अहिले विपद् व्यवस्थापनका लागि केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहेको छ भने प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति र सबै स्थानीय तहमा स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति रहेको छ।

यसैगरी सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति रहेको छ। केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिले आपसमा समन्वय गरी विपद् व्यवस्थापन कार्यमा सक्रिय भइरहेको गृह प्रवक्ता सुवेदीले जानकारी दिए।

हाल गृह मन्त्रालयको केन्द्रीय विपद् कोषमा विपद् व्यवस्थापनका लागि झण्डै एक अर्ब रूपैयाँ छ भने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला विपद् व्यवस्थापन कोषमा कम्तीमा ७ लाख रूपैया रहेको छ।

प्रधानमन्त्री मातहतको केन्द्रीय विपद् कोषमा पनि झण्डै ४ अर्ब रूपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसैबीच दैवीप्रकोपको समयमा स्वास्थ्यसँग सम्बन्धित रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर