Aamsanchar

अचार उत्पादनबाट मनग्गे आम्दानी

Author Image
मङ्गलवार, असार १९, २०७५

अमित खम्बू / अर्जुनधारा।

झापा अर्जुनधारा–९ निवासी दिनानाथ शिवाकोटी अचार उत्पादनबाट मनग्गे आम्दानी लिन सफल भएका छन् ।

२०५० सालबाट विभिन्न अचार उद्योगहरुलाई अचार उत्पादन गर्न आवश्यक कच्चापदार्थ सप्लाई गर्दै अचारको क्षेत्रमा प्रवेश गरेका ५१ वर्षीय शिवाकोटी एक सफल अचार उद्योगीको पहिचान बनाउन सफल भएका हुन् ।

व्यक्तिगत अनुभव, व्यवहारिक सीपको निरन्तरताका कारण आर्थिकरुपमा बिर्तामोडस्थित एभरेष्ट बैंकको २० लाख रुपैयाँ कर्जा र पारिवारिकरुपमा आमा कमला, बुबा गंगाप्रसाद र श्रीमती अम्बिकाको सहयोगमा २०६६ सालमा शिव बाबा अचार तथा जुस उद्योग स्थापना गर्न शिवाकोटी सफल हुन् । हाल उनी आफ्नै उद्योगमा उत्पादन भएको अचारलाई देशैभर पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

झापा जिल्लाको स्थानीय बजारसँगै देशको राजधानी काठमाडौं र पोखराका विभिन्न बजारमा आफ्नो उत्पादनलाई पु¥याउँदै आएको उनको उद्योगमा वार्षिक १५ देखि २० टन अचार उत्पादन हुने गरेको छ । त्यसबापत १८ देखि २० लाख रुपैयाँको कारोबार गर्ने गरेका उनले मासिक ५० हजार रुपैयाँ आम्दानी हुने गरेको बताए ।

वैदेशिक रोजगारीमात्र आम्दानीको राम्रो स्रोत हो भन्नेहरुका लागि उनी उदाहरणीय बनेका छन् । आफ्नो परिवारसँगै मासिक तलबमा चार जना कर्मचारी, दैनिक ज्यालामा ६–७ जनालाई उनले रोजगारी दिएका छन् । २० वटा आइटमको अचार उत्पादन हुने उनको उद्योगमा उत्पादन हुने अचारको ल्याब परीक्षणको लागि एक जना खाद्य प्राविधिक कार्यरत् छन् । हाल उपभोक्ताहरुको मागमध्ये ७० प्रतिशत मात्र माग पूरा गरेको बताउँदै उनले बजारमा स्वदेशी अचारको माग बढेको बताए ।

शुद्ध, खानयोग्य रसायनको उपयुक्त मात्रा, ढुँडी नआउने, लामो समय टिक्ने, ल्याब परीक्षणपछि मात्र बजारमा पु¥याउने हुँदा पनि आफूले उपभोक्ताहरुको विश्वास जित्न सफल भएको उनले बताए । आगामी दिनमा कृषकहरुबाट प्राकृतिक कच्चापदार्थहरु आफूले प्राप्त गर्न सकेको खण्डमा अग्र्यानिक अचार उत्पादनको अभियान शुरु गर्ने उनले बताए ।

अचार उत्पादनको विषयमा सरकारी, गैरसरकारी संस्थाहरुको आयोजनामा स्थानीयदेखि केन्द्रसम्म गरी हालसम्म उनले ४५ वटा जति तालिम दिएको बताउने उनी एउटा तालिम बराबर १५ देखि २० हजार रुपैयाँसम्म पारिश्रमिक लिने बताउँछन् । ठूलो लगानीको अभावमा समय अनुसारको जुस उत्पादन गर्न नसक्नु र विदेशी जुस पाउडरहरुले सबै बजार कब्जा गरेको कारण जुस उत्पादन गर्न आफू पछि सरेको उनी बताउँछन् ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर