सुरुङ्गा।

शिवसताक्षी नगरपालिका विकासका पूर्वाधार कम तर सम्भावना बढी बोकेको नगरपालिकाको रुपमा रहेको छ ।

सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ ऐतिहासिक सांस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरु रहेको यो नगरपालिका ठूलो सम्भावना रहेको नगर हो । प्राकृतिक तथा धार्मिक सम्पदाहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणीय बनाएका छन् ।

यो नगरपालिका सडक, अस्पताल, सूचनासञ्चार लगायतका पूर्वाधार विकासमा कमजोर देखिए पनि पर्यटन, वातावरण संरक्षण लगायतका क्षेत्रमा नगर अगाडि रहेको मानिन्छ । वनजङ्गल र खेतीपातीमा यो नगर झापा जिल्लाकै अग्रणी जिल्लाको रुपमा लिइन्छ । चुरेक्षेत्रसँग जोडिएको वन क्षेत्र र कनकाई सिञ्चाइ आयोजनाले नगरको विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ ।

नेपाल सरकारले २०७३ साल फागुन २७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी साविकको शिवसताक्षी नगरपालिका, पाँचगाछी गाविस तथा धरमपुर गाविस सम्मिलित गरी यस शिवसताक्षी नगरपालिका गठन गरेको हो । जम्मा ११ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५.८७ वर्ग कि.मी. रहेको छ भने जनसंख्या ६४ हजार ५ सय ९६ रहेको छ ।
साविक धरमपुर गाविस हाल वडा नं. १, २, ३ तथा साविक पाँचगाछी गाविस हाल वडा नं. ४ र ५ को रुपमा रहेको छ भने वडा नं. ६ र ७ ले साविक शिवगञ्ज गाविस तथा वडा नं. ८, ९, १० र ११ ले साविक सतासीधाम गाविसलाई समेटेको छ । यस नगरपालिकाको पूर्वमा कन्काई नगरपालिका, उत्तरमा इलाम जिल्ला, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका रहेका छन् ।
प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण यो नगरपालिका धेरै ठूलो सम्भावना बोकेको नगर हो । यो नगरमा जातीय विविधतासँगै एकता र सहिष्णुता पनि रहेको छ । जात र भाषाको विषयमा कहिल्यै पनि झैझगडा नभएको यस क्षेत्रको इतिहास छ ।
झापाका अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरुमा यो नगरपालिका केही पछाडि छ । विकासको अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई योजनाबद्ध रुपमा समुन्नतिको मार्गमा लैजानका लागि मानवीय प्रयत्न आवश्यक छ । नगर क्षेत्रमा रहेका वनजङ्गलको रक्षा, चिल्लागढ, सतासीधाम जस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण तथा दोमुखाको पर्यटकीय गरिमालाई कायम राख्दै थप आकर्षणको केन्द्र बनाउन सकिने र यसबाट आन्तरिक पर्यटनलाई सहयोग पुग्ने देखिन्छ ।
अहिले नगरपालिकाको नेतृत्व नगरप्रमुख चन्द्रकुमार शेर्मा तथा उपप्रमुख भोजकुमारी नेपाल लगायत अन्य जनप्रतिनिधिले गरिरहेका छन् । उनीहरु दुवै जना निर्वाचित जनप्रतिनिधिका रुपमा काम गरिरहेका छन् । गत वर्ष जनप्रतिनिधिहरु निर्वाचित भइ आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्वीकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु सञ्चालन गर्दै आएको छ ।
नगरलाई पूर्वाञ्चल अर्थात् प्रदेश नं. १ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सताक्षीधाम धार्मिक तथा पर्यटकीय क्षेत्र र दोमुखा पर्यटकीय क्षेत्रको विस्तृत र दीर्घकालीन विकास योजना तर्जुमा गरी यी क्षेत्रको विकासका लागि पर्याप्त बजेट छुट्याई कार्यान्वयन गर्न सक्नुपर्दछ ।
नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र रही नगरपालिकालाई समुन्नत र जिल्लाकै सबैभन्दा बस्न योग्य नगरको रुपमा विकास गर्न नगरवासीलाई उत्प्रेरित गर्दै जनप्रतिनिधिहरु क्रियाशील रहेका छन् र यो क्रमलाई अघि बढाउने हो भने सीमित स्रोतसाधनलाई अधिकतम् उपयोग गरी नगरको विकास छोटो अवधिमा गर्न सकिनेमा शंका छैन ।

