Aamsanchar

कैलाश मानसरोवर जाने ७ पर्यटकको मृत्यु

Author Image
बुधवार, असार २०, २०७५

काठमाडौं– तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न गएका करिब आधा दर्जन भारतीय पर्यटकको मृत्यु भएको छ । धार्मिक पर्यटकीय क्षेत्र कैलाश मानसरोवर दर्शन गएका ७ जनाको बाटोमै मृत्यु भएको हो । हुम्ला र तिब्बततर्फ परेको अविरल वर्षाका कारण सयौं भारतीय पर्यटन अलपत्र परेको जनाइएको छ । केहीको कैलाश मानसरोवरबाट फर्किने क्रममा हुम्लाको सिमकोट र केहीको तिब्बततर्फनै मृत्यु भएको जनाइएको छ ।

यो सिजन नेपाली, भारतीय लगायतका धार्मिक पर्यटकहरुले कैलाश मानसरोवरको दर्शन गर्ने सिजन हो । नेपाल र तिब्बततर्फ परेको अविरल वर्षाका कारण १५ सयभन्दा बढी भारतीय पर्यटकहरु अलपत्र परेका छन् । उनीहरुको उद्धार गर्ने क्रम जारी रहेको जनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गर्ने प्रयास जारी राखेको प्रहरीको दाबी छ ।

यसैक्रममा नेपालको सिमकोट र तिब्बत क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकको उद्दारप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री शुष्मा स्वराजले गमभीर चासो व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले अलपत्र परेका १५ सयभन्दा बढी भारतीय पर्यटकहरुको उद्दारमा कमी हुन नदिन विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासमा सम्पर्क गरिरहेको बुझिएको छ ।

उनले जसरी पनि श्रद्धालुहरुको उद्दार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री मोदीले जसरी पनि श्रद्धालुहरुको उद्दार गर्न काठमाडौस्थित दूतावास र भारतीय विदेशमन्त्रालयलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै विदेशमन्त्री स्वराजले फसेका नागरिकहरुको उद्धारमा कमी नहुने दाबी गरेकी छन् ।

विदेशमन्त्री स्वराजले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियतामा उद्धार कार्य भैरहेको समेत जनाएकी छन् । उनले नेपालगञ्ज र सिमकोटमा भारतीय दूतावासका प्रतिनिधिहरु तैनाथ गरिएको समेत ट्वीटरमार्फत जानकारी दिएकी हुन् । फसेका यात्रुहरुलाई लगातार खानादेखि अन्य राहतका सामग्री वितरण भैरहेको जानकारी दिएकी छन् । स्वराजले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार कार्य भैरहेको समेत जानकारी दिएकी छन् । 

भारतीय दूतावासका अनुसार ५२५ यात्री सिमकोट, ५५० यात्री हिल्सा र ५०० यात्री  तिब्बत क्षेत्रतर्फ अलपत्र परेको जनाएको छ । अलपत्र यात्रीहरुका लागि सहज होस् भन्ने उद्धेश्यले भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले फरक फरक भाषामा हटलाइन नम्बर समेत सार्वजनिक गरेको छ । भारतीय विदेशमन्त्री स्वराजले ट्वीटमार्फत हटलाइन नम्बर समेत सार्वजनिक गरेकी छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर