भद्रपुर।

भद्रपुर–७ मा रहेको पहिलो पाइला कृषि बहुद्देश्य सहकारी संस्थाले कृषि उपज बिक्री–वितरण गर्ने उद्देश्यले सुपथ मूल्यको सहकारी पसल चन्द्रगढी सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा युवाहरु पलायन भइरहेको अवस्थामा स्वदेशमा नै केही गरौं भन्ने उद्देश्यले १० लाख रुपैयाँ बराबरको लागतमा प्राङ्गारिक कृषि उपज तथा तरकारी पसल सञ्चालनमा ल्याएको हो ।
पहिलो पाइलाले झापामै पहिलोपटक यस्तो प्रकारको अग्र्यानिक पसल सञ्चालनमा ल्याएको बताइएको छ । सहकारी पसलको उद्घाटन प्रदेश संसद बसन्तकुमार बानियाँले गरेका थिए । उनले विषादिरहित खाद्यान्न उत्पादनमा पसलको भूमिका महत्वपूर्ण हुने बताए ।

संस्थाका अध्यक्ष सनीपकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्राइम बैंक चन्द्रगढीका शाखाका प्रमुख हेमन्त न्यौपाने, अर्जुधारा नगरपालिकाका कृषि प्रसार अधिकृत शालिकराम भट्टराई लगायतले बोलेका थिए ।
उपभोग्य वस्तुमा विषादि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरी अग्र्यानिक वस्तु उपभोगको लागि सुपथ मूल्यमा सहकारी पसल सञ्चालनमा ल्याएको अध्यक्ष भुजेलले बताए । उनले भद्रपुर नगरपालिकाका दश वटा वडामा करेसाबारी अथवा छतमा तरकारी खेती गर्न प्रोत्साहित गर्ने र कृषिको लागि तालिम समेत प्रदान गरेर आत्मनिर्भर बनाउने योजना रहेको र त्यसलाई तत्काल कार्यान्वयन गरिने बताए ।
उनले कोरिया र इजरायलमा वर्षौ बसेर तालिम लिएर स्वदेश आएका युवालाई कृषि व्यवसायमा लागेर त्यहाँ सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

