सुरुङ्गा ।

शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडयाल मेची–महाकाली पैदल यात्रामा निस्कने भएका छन् ।

बुधबार सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी शिक्षक पौडयालले उक्त जानकारी दिएका हुन् । ‘कर्मयोगी शिक्षकहरुको पहिचान, एकता, अधिकार र सम्मान; शैक्षिक जागरणका लागि मेची–महाकाली पैदल अभियान’ भन्ने नाराका साथ असार २३ देखि काकरभिट्टाबाट उनले यात्रा शुरु गर्ने भएका हुन् ।
उनले साथमा नेपालको राष्ट्रिय झण्डा र नेपाल शिक्षक महासंघको झण्डा लिएर यात्रा गर्ने जानकारी दिए । प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक पौडयालले विभिन्न ठाउँमा शिक्षकहरुसँग भेटघाट कार्यक्रम राख्दै ३ देखि ४ हप्तामा यात्रा पुरा गर्ने योजना रहेको बताए ।

शिक्षकहरुलाई १३ भन्दा बढी श्रेणीमा विभाजन गर्ने, शिक्षण पेशालाई मर्यादित नबनाउने परिपाटीको अन्त्य गर्ने र पेशागत हकहितका लागि सबै शिक्षक एकताबद्ध हुनुपर्ने सन्देश दिनका लागि आफूले पैदलयात्रा शुरु गर्न लागेको बताए ।
आफै पनि अपांगता भएकाले उनले अपांगता भएका शिक्षक र विद्यार्थीका लागि राज्यले विशेष सहुलियत दिनुपर्ने सन्देश पनि दिने पैदलयात्राको लक्ष्य रहेको बताए । मेची–काली यात्राका सम्बन्धमा नेपाल शिक्षक महासंघ, जिल्ला प्रशासन कार्यालय झापा, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र सुरक्षाकर्मीलाई जानकारी गराइसकेको उनले बताए ।
शिक्षा समन्वय एकाई भद्रपुरबाट पैदलयात्राका लागि सहमति लिइसकेको उनले बताए । शुक्रवार कनकाई सृजना क्लबले लालपानी बजारबाट उनलाई औपचारिक विदाई गर्ने कार्यक्रम रहेको छ । पत्रकार भेटघाटमा कनकाई सृजनशील क्लबका अध्यक्ष जीवनकुमार ढकाल, नेपाल शिक्षक महासंघ झापाका सह–अध्यक्ष छबिलाल दवाडी, शिक्षक नगेन्द्र सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

