Aamsanchar

सामुदायिक वनलाई आर्थिक समृद्धिको आधार बनाइने

Author Image
आइतवार, असार २४, २०७५

काठमाडौँ, 

सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शक्तिबहादुर बस्नेतले समुदायले संरक्षण गरेका वन क्षेत्रलाई कृषि उपज उत्पादन र पर्यापर्यटनमा लगाइने तथा प्राप्त प्रतिफल समुदायको हितका लागि प्रयोग गरिने लक्ष्य राखिएको छ । चुरे क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको उहाँले बताउनुभयो ।

यस्तै कबुलियती वन तथा व्यक्तिगत वनलाई समेत आर्थिक समृद्धिको आधारका रुपमा अगाडि बढाउने लक्ष्य राखिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । कृषि, पशुपालन, भूसंरक्षण, ग्रामीण सडक, वृक्षरोपण कार्यक्रम अगाडि बढाइने तथा बृहत् जलाधार व्यवस्थापन कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।

यस्तै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई देशव्यापी बनाइने तथा वन क्षेत्रमा सुशासन र वन क्षेत्रको स्वामित्वको निर्धारण गर्ने विषय प्राथमिकतामा रहने स्पष्ट पार्दै उहाँले जडीबुटी खेती, त्यसको व्यावसायिकीकरण, जडीबुटी उद्योग खोल्ने लगायत काममा बजेटमार्फत नै नीतिगत व्यवस्था हुने बताउनुभयो ।

नदी संरक्षणलाई आफ्नो मन्त्रालयले विशेष प्राथमिकतामा राखेको र राष्ट्रिय सफाइ अभियान शुरु भएको, नदी प्रणालीमा आधारित रहेर सातै प्रदेशमा एकीकृत कार्यक्रम अगाडि बढाइएको र केही साना कार्यक्रम समावेश गरिएको उल्लेख उहाँले गर्नुभयो ।

काठमा आत्मनिर्भर हुने लक्ष्यका साथ सरकारले काम गरिरहेको र निर्यात गर्नेसम्मका विषयलाई केन्द्रमा राखिएको राष्ट्रियसभालाई उहाँले जानकारी दिनुभयो । सांसद बद्रीप्रसाद पाण्डे र हरिचरण शिवाकोटीले मन्त्री बस्नेतसँग थप स्पष्टीकरण माग्नुभएको थियो ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर