बुधबारे ।

वातावरण संरक्षण तथा सरसफाई समाज बुधबारेले बुद्धशान्तिका सामुदायिक विद्यालय तथा सार्वजनिक स्थलहरुमा यो वर्ष पनि धमाधम विरुवा रोप्न सुरु गरेको छ ।

वातावरण संरक्षणका क्षेत्रमा विगतका वर्षदेखि नै कार्य गर्दै आएको समाजले आइतबार बुद्धआदर्श मावि बुद्धशान्ति १ मा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेलको हातबाट विरुवा रोप्दै कार्यको थालनी गरिएको समाजका अध्यक्ष देवेन्द्र निरौलाले जनाएका छन् ।
सो अभियानमा गाउँपालिकाका वडाध्यक्ष, वडासदस्यहरुले पनि विरुवा रोपेर कार्यको थालनी गरेका थिए । वृक्षारोपण कार्यमा जनप्रतिनिधि, विद्यालयका शिक्षक, समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समाजले बुद्धशान्ति गाउँपालिकाका सबै वडाका क्याम्पस, सामुदायिक विद्यालयमा वृक्षारोपन गर्ने समाजका अध्यक्ष निरौलाले जनाएका छन् ।

विद्यालयसँगै खानेपानीको मुहान संरक्षणको उद्धेश्यले पानीका मुहान, घाट लगायतका सार्वजनिक स्थलमा वृक्षारोपण गरिने बताइएको छ । विभिन्न ११ प्रकृतिका विरुवा रोपिने बताइएको छ । जसमा अलैंची, धोक्रे फुल, स्वामी, कपुर, निम, अमला, अर्जुन, वेल, रुद्राक्ष, श्रीखण्ड, तेजपत्ता रहेका छन् ।
यो वर्ष करीव १५ सय विरुवा रोपिने लक्ष्य रहेको समाजका अध्यक्ष निरौलाले जनाएका छन् ।

