Aamsanchar

ससुराको काजकिरिया गर्न बञ्चित !

Author Image
सोमवार, असार २५, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–८ निवासी अमिता रिजाल गौतम(३४) केही दिन अघि निधन भएको आफ्नै ससुराको काजकिरिया गर्नबाट बञ्चित भएकी छिन् ।

गत असार २१ गते ससुरा खड्गप्रसाद गौतमको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घर पुगेकी उनलाई श्रीमान् तिलक गौतमसहित परिवारका सदस्यहरुले गालीगलौज र दबाबसँगै हातपात गर्दै काजकिरिया गर्नबाट बञ्चित गरेको पूर्वाञ्चलकर्मीसँगको भेटमा पीडित अमिताले बताइन् ।

श्रीमानसहित परिवारसँगको आन्तरिक समस्याका कारण बिगत छ महिनादेखि मेचीनगर–१०स्थित धुलाबारीमा डेरा लिएर दुई छोरी शैली(७) र सृष्टी(४)को साथमा बसोबास गर्दै आएकी उनी हाल डेरामै कोरामा बसेकी छिन् ।

मलिन अनुहारमा गहभरि आँशु झार्दै उनले भनिन्– ससुराको दाहसंस्कार गर्ने दिन असार २२ गते भेला भएको मलामीहरुको अगाडि श्रीमान् तिलक, मामाससुरा विष्णु बाँस्तोला, आमाजू दिदी रोजी नेपाल, आमाजु दाजु जीवन सुवेदीले उक्त घरमा आफ्नो अधिकार नभएको भनेको र भाञ्जा बिराज सुवेदीले आफूलाई लात्ती प्रहार गरे ।

कान्छी बुहारी अमितालाई ससुराको काजकिरिया गर्नबाट वञ्चित गरिएको विषयमा सो वडा र छिमेकी बुद्धशान्ति गाउँपालिका–२स्थित जयपुरका सिङ्गो वडाबासीहरु आक्रोशित भएका छन् । विगतमा पनि गौतम परिवारबाट बुहारी अमितालाई चरम हिंसा गरिएको जानकारी गराउँदै स्थानीयहरुले सो परिवारलाई काजकिरिया गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । गौतम परिवारले बुहारी अमिताको लागि सो वातावरण नबनाए सामाजिक बहिष्कार गर्दै उनको लागि आवश्यक न्याय दिलाउन लागीपर्ने स्थानीय भीम श्रेष्ठले चेतावनी दिए ।

घरेलु हिंसा, माना चामल, छल कपट र अंश लगायतका विषयमा अदालतमा हाल चलिरहेको मुद्दा नै सो घटनाको मुख्य कारण हुनसक्ने पीडित अमिताको अनुमान छ । यता यस विषयमा वडाध्यक्ष गोपीचन्द्र गौतमसँग बुझ्दा उनले पटक–पटक घरमै काजकिरिया गर्न लगाउनु भन्दा अमिताको श्रीमान् तिलकले सो विषयमा चासो नदिएको बताए ।

अमिता किन पुगिन् डेरामा ?

गत पुस नौ गते वडाध्यक्ष गौतमको सामुन्ने उनलाई ससुरा खड्गप्रसाद, सासु चन्द्रकला र घरेलु कामदारकारुपमा रहेका महिलाद्वय करुणा खुलाल र जमुना खड्काले कुटपिट गरेका थिए ।

कुटपिटको तीन दिनपछि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलको बेडमा पाएको आफूलाई श्रीमान् तिलकले विष खाएको हुँदा हस्पिटल ल्याएको जवाफ दिए । तर, उनी भन्छिन्– मलाई सो दिन कुटेर बेहोस भएको अवस्थामा विष खुवाइएको थियो ।

हस्पिटलमा १८ दिनको बसाइपछि घर जाँदा आफ्नो ज्यानको सुरक्षा नहुने हुँदा उनी आफ्नो माइतीको संरक्षणमा धुलाबारीस्थित डेरामा बस्न पुगेकी हुन् । सोहीक्रममा उनले श्रीमान् र परिवारबिरुद्ध घरेलु हिंसा, मानाचामल, छल कपट र अंश लगायतका विषयमा जिल्ला अदालत झापामा मुद्दा दर्ता गराएकी थिइन् ।

गौतम परिवारलाई सामाजिक बहिष्कार

यसैबीच ससुराको काजकिरिया गर्न वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक वहिष्कार गरेको छ ।

समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार आयोजित भेलाले कान्छी बुहारी अमितालाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय यथावत रहने बताइएको छ ।

के भन्छन् माइतीपक्ष ?

अमिताका भाइ अमर दिदीलाई घर नपठाउने बताउँछन् । सिङ्गो समाजलाई चुनौति दिँदै गौतम परिवारबाट दिदीमाथि पटक–पटक घरेलु हिंसा हुँदा कतैबाट सहयोग नपाएकोमा दिदी घरमा सुरक्षित हुने कुरामा उनी विश्वस्त छैनन् ।

पूर्व सांसद् एवम् मृतक परिवारका आफन्त मनकुमार गौतमको भनाइ उद्धृत गर्दै ‘बुहारीलाई अन्त लैजाऊ, घरमा नराख, म निरीह छु’ भनेका कारण पनि दिदीलाई घर पठाउन सक्दिनँ । यता स्थानीयहरुले पीडित अमितामाथि भाञ्जा बिराज सुवेदीले गरेको कुटपिट र गाउँमा युवाहरुको समूह लिई गाउँलेहरुलाई धम्क्याएको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिइएको स्थानीय युवा बिजय राईले पूर्वाञ्चलकर्मीसँगको फोन सम्पर्कमा बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर