Aamsanchar

स्वच्छ पिउनेपानीको हिसाबले दुर्गापुर अति संवेदनशिल क्षेत्र भएको तथ्य सार्वजनिक

Author Image
सोमवार, असार २५, २०७५

(नरेन्द्र ढकाल, विनोद पाण्डे )

झापा, असार २५ । विकासका हिसाबले झापा सुगम जिल्ला मानिए पनि अझैं झापाका शहरी क्षेत्रका मानिस नै स्वच्छ पिउने पानीबाट बञ्चित रहेको तथ्य फेला परेको छ । पूर्व–पश्चिम राजमार्गसंगै जोडिएको कनकाई नगरपालिका–१ र २ का अधिकांश मानिस शुद्ध पिउने पानीबाट बञ्चित भएका छन् ।

वषौं अघिदेखि बसोबास गर्दै आएको भएपनि खानेपानीको चरम समस्या रहेको कनकाई नगरपालिका–१ दुर्गापुरका खगेन्द्र निरौलाले बताए । सडक, विजुली, इन्टरनेट लगायतको सुविधा पुगेपनि उक्त स्थानमा भने हालसम्म स्वच्द्ध पिउने पानी नपुग्दा पानी जन्य रोगको उच्च जोखिम झोल्नु परेको स्थानीयको भनाई छ ।

खानेपानीको समस्या हुदाँ स्थानीयले फिल्टर विधि अप्नाएर कलको पानी खानुपरिरहेको स्थानीय मिलन दाहालको भनाई छ । उक्त स्थानका करिब १० हजार मानिस कलको आइरन युक्त पानी पिउन बाध्य भएको पाइएको छ । स्थानीय भन्छन्–पानी छैन कलकै पानी खानुप¥र्यो पानी पंहेलो हुन्छ कसरी खानु ? नखाँउ भने के गर्ने ज्यानलाई जोखिममा राखेर भएपनि खाँदैछौं ।

जसोतसो बालुवा विधिको फिल्टर गरेको पानी आफुले र गाईबस्तुलाई दिदैं छौं लुगा धुन भने शनिबार नै कुर्नुपर्छ सबै लुगा पोको बारेर खोला धाउनुपर्ने बाध्यता छ स्थानीय खगेन्द्र दाहालले गुनासो गर्दै भने सेता लुगा लगाउने रहर त कसलाई हुदैन पानीले एकै पटकमा पहेंलै बनाईदिन्छ कसले आफ्नो पिडा भनौं । खानेपानीको समस्या समाधान गर्न कोसान नाम संस्थाको पहलमा २०६३ सालमा साना शहरी खानेपानी आयोजना कार्यक्रम मार्फत खानेपानीको आयोजना सञ्चालन गरेपनि असफल भएको स्थानीयले बताएका छन् ।

कोसानले उक्त क्षेत्रमा ५ वटा आयोजना सञ्चालन गरेपनि सफल हुन नसकेको र कसैले पनि खानेपानीको विषयमा ध्यान केन्द्रित नगरिदिदाँ सुगम ठाँउमा बसेर पनि अति र्दुगमको अवस्था झैं सामना गरिरहनु परेको स्थानीयले दुखेसो पोखेका छन् ।

सरकारले सन् २०१७ सम्ममा सबै नागरिकलाई शुद्ध खानेपानी खुवाउने राष्ट्रिय लक्ष्यका साथ काम गरेपनि उक्त लक्ष्य असफल भइसकेको छ । जलवायु परिवर्तन, जनसंख्या बृद्धि र बढ्दो वनविनाशका कारण जलस्रोतका मुहान नाश हुने क्रम बढ्दै गइरहेको अवस्थामा पानीको अभाव सहरको प्रमुख चुनौतीको रूपमा विकास हुँदैछ । खाना पकाउने, पिउने, कपडा धुने, नुहाउनेलगायत हरेक कामका लागि पानी निर्विकल्प चीज हो । जलस्रोतको उपयोगको सम्बन्धमा जलस्रोत ऐन, २०४९ को दफा ७ को उपदफा १ मा खानेपानी र घरेलु उपयोगलाई पहिलो प्राथमिकतामा राखेको छ भने सिंचाई दोस्रो, पशुपालन एवम मत्स्यपालनजस्ता कृषिजन्य उपयोगलाई तेस्रो र जलविद्युतलाई चौंथो प्राथमिकतामा राखिएको छ ।

रोग लागेर उपचार गर्नु भन्दा रोकथाम गर्नु नै बेश भनेझै सहरीकरणको बिस्तार सँगै खानेपानीको दिगो व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ । यसैबीच स्थानीयले खानेपानीको विषयमा पटक–पटक स्थानीय, प्रदेश र संघिय सरकारको ध्यानाकर्षण गराएपछि शनिबार एक कार्यक्रमका बीच उक्त क्षेत्रमा खानेपानीको चरम समस्या भएको तीनै तहका जनप्रतिनिधिहरुले निश्कर्ष निकाल्दै खानेपानी आयोजना निमार्ण थाल्ने प्रतिबद्धता जनाएको छन् । जामुनबाडी–प्रजापति–कनकाई खानेपानी आयोजना अन्तरगत उक्त स्थानमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिने भएको छ । १३ करोड २५ लाख ७७ हजार लागतमा निर्माण सम्पन्न गरिने आयोजना ५ वर्षभित्र पुरा गरिसक्ने आयोजना निर्माण उपभोक्ता समितिका सचिव निर्मलकुमार खनालले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारबाट २० लाख र सघिंय सरकारबाट ४० लाख रुपैंया समेत बजेट बिनियोजन भएको कनकाई नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष रोशन पोख्रेलले जानकारी दिए ।

स्थानीय निकाय एक्लैले खानेपानीको समस्या समाधन गर्नै नसकने भन्दै उनले भने–यस क्षेत्रमा हालसम्म पनि पिउने पानी उपलब्ध हुन सकेको छैन, यो विषयमा माथिल्लो स्थरसम्म झक्झक्याउने काम हामी गरिरहेका छौं । उनले कनकाई १ र २ मा स्वच्छ पिउने पानीको समस्या हुदाँ पानीबाट लाग्ने रोगको जाखिम रहेको समेत स्वीकार गरेका छन् ।

एता खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख इञ्जिनियर सीताराम काफ्लेले झापाको कनकाई नगरपालिका स्वच्छ पिउनेपानीको हिसाबमा संवेदनशिल क्षेत्र भएको बताए । उनले उक्त क्षेत्रमा खानेपानीको समस्या रहेको भन्दै केही क्षेत्रमा अधिक आइरनयुत्त, पिउने पानीको पनि प्रयोग गर्नुपरेको अवस्था रहेको बताए ।

करोडौंको आयोजनामा लाखौं रुपैंया मात्र सरकारले बजेट बिनियोजन गर्ने गरेको भन्दै यस्तै अवस्थामा खानेपानीका आयोजना सञ्चालन हुने हो भने अबको १५ वर्षमा मात्रै झापाका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न हुने उल्लेख गरे । झापाका ८२ प्रतिशत जनताले स्वच्छ पिउने पानीको प्रयोग गरिरहेको भन्दै कनकाई नगरपालिकामा भने समस्या रहेको सवीकार गरे । हाल झापाका विभिन्न स्थानमा ६८ वटा खानेपानीका आयोजनाहरु सञ्चालनमा रहेको काफ्लेले जानकारी दिए । उनले सरकारले सन् २०१९ सम्ममा सबै जनतालाई स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य लिएको उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)