Aamsanchar

पूर्वका चार जिल्लामा ३८ करोड रासायनिक मल विक्री

Author Image
मङ्गलवार, असार २६, २०७५

सुरेन्द्र भण्डारी / बिर्तामोड।

झापासहित पूर्वका चार जिल्लामा आर्थिकवर्ष २०७४÷०७५ मा ३८ करोड ५१ लख २५ हजार ७ सय १३ रुपैयाँको रासायनिक मल विक्री भएको छ ।

माटोमा रहेका प्रकृति प्रदत्त प्राङ्गरिक पदार्थ घट्दै जानु र कृषि पद्धतिमा आएको आधुनिकीकरणले रासायनिक मलको प्रयोग बढेसँगै साढे ३८ करोड रुपैयाँको रासायनिक मल विक्री भएको हो । पछिल्लो समय कृषकले उन्नत तथा वर्णशंकर प्रजातिका वाली लगाउन थालेपछि रासायनिक मलको प्रयोग बढेको कृषि सामग्री लिमिटेड बिर्तामोडका शाखा प्रवन्धक कमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार झापासहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका कृषकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा सवैभन्दा बढी युरिया मल प्रयोग गरेका छन् । तथ्याङ्क अनुसार पूर्वका चार जिल्लामा २ लाख ८१ हजार ७ सय २८ वोरा युरिया मल विक्री भएको छ ।

१ लाख ४९ हजार ६ सय ६७ वोरा कृषि सामग्री लिमिटेडबाट मात्रै विक्री भएको छ भने साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडबाट १ लाख ३२ हजार ६१ बोरा युरिया मल विक्री भएको छ । कृषकले युरिया मल मात्रै २० करोड ७७ लाख ८५ हजार ५ सय ७८ रुपैयाँको खरिद गरेका छन् ।

दिन प्रतिदिन रसायनिक मलको बढ्दो प्रयोगका कारण अघिल्लो बर्षका तुलनामा यस वर्ष बढी मल विक्री भएको बताइन्छ । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत १० करोड ८९ लाख ५५ हजार ६७ रुपैयाँको युरिया मल विक्री भएको छ भने साल्ट ट्रेडिङ्गमार्फत ९ करोड ६७ लाख ३२ हजार रुपैयाँको युरिया मल विक्री भएको छ ।

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडमार्फत कृषकले १० करोड २८ लाख ३१ हजार ४ सय ५६ रुपैयाँको ४७ हजार ४८ वोरा डीएपी मल खरिद गरेका छन् । यसैगरी एक करोड १३ लाख ८१ हजार ४० रुपैयाँको ७ हजार १ सय ८५ हजार रुपैयाँको पोटास खरिद गरेका छन् यता साल्ट ट्रेडिङ्गमार्फत ५ करोड ५४ लाख ८८ हजार ८ सय ८८ रुपैयाँको २५ हजार ४ सय ७ वोरा डीएपी मल विक्री भएको छ भने ८६ लाख ३५ हजार ९ सय ६८ रुपैयाँको ५ हजार ४ सय ४९ वोरा पोटास विक्री भएको साल्ट ट्रेडिङ्ग बिर्तामोडका प्रमुख देवराज भट्टराईले जानकारी दिनुभयो ।

सरकारले सहुलियतमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गमार्फत अहिले रासायनिक मल विक्री गर्दै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल चिया तथा कफी विकास वोर्ड, चिया विकास निगम, नेपाल चिया उत्पादक संघको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले कृषकका लागि कृषि समूह र सहकारीलाई मल उपलब्ध गराउँदै आएको छ ।

रासायनिक मल चिया कृषकले समेत प्रयोग गर्दै आएका छन् । चिया कृषकले पनि सबैभन्दा बढी युरिया मल प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । पहाडी जिल्लामा रासायनिक मलको प्रयोग कम हुने गरेको र झापामा रासायनिक मलको प्रयोग अधिक हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्धक पोखरेलले बताए ।

माटो नै विरुवाको खाद्य भण्डार तथा प्राणी र वनस्पतिहरुको जीवन आधार हो । माटोमा औषत ४५ प्रतिशत खनिज पदार्थ, ५ प्रतिशत प्राङ्गारिक पदार्थ, २५ प्रतिशत हावा र २५ प्रतिशत पानी रहेको हुन्छ । यसका साथै अनगिन्ती सूक्ष्म जीवाणु तथा साना जीवहरु माटोमा रहेका हुन्छन् । जसका कारणले माटो आफैं जीवित वस्तुको काम गर्न पुग्दछ । माटोलाई उचित व्यवस्थापन गरेका खण्डमा मात्रै माटोबाट अपेक्षित लाभ लिन सकिने बताइन्छ ।

राम्रो वाली उत्पादनका लागि नाइट्रोजन, फस्फोरस, पोटास, मुख्य तथा प्रारम्भिक तत्व हुन् भने क्याल्सियम, म्याग्नेसियम, सल्फर, मध्यमस्तरका तत्व हुन् । फलाम, वोरन, मोलिब्डेनम, म्याङ्गनिज, कपर, क्लोरिन, निकेल आदि खाद्य तत्व हुन् । ‘खाद्य तत्व मध्ये वोट विरुवाले कार्वन, हाइट्रोजन, तथा अक्सिजन आफ्नो संरचनात्मक तत्वका रुपमा हावा तथा पानीबाट प्राप्त गरिरहेका हुन्छन्’– जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख घनश्याम डाँगीले भने– वाँकी हुने मुख्य तथा सहायक र सूक्ष्म तत्वहरु विरुवाले माटोबाटै प्राप्त गर्छन् ।

विरुवालाई आवश्यक पर्ने पोषक तत्व मध्ये युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ । त्यस्तै डीएपीमा १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फस्फोरस हुन्छ भने म्युरेट अफ पोटासमा ६० प्रतिशत पोटास हुने गरेको साल्ट ट्रेडिङ्ग विर्तामोड प्रमुख भट्टराईले बताए ।

विरुवाको वृद्धिका लागि आवश्यक पर्ने प्रोटिन निर्माणका लागि नभइ नहुने एमिनो एसिड भन्ने तत्व नाइट्रोजनयुक्त तत्वबाट प्राप्त हुने भएकाले रासायनिक मलको प्रयोग गरिएको बताइन्छ । त्यस्तै विरुवाको कोष वृद्धि, नयाँ कोषिका वृद्धि र विकास गर्न फस्फोसर तत्वले मद्दत गर्छ भने पोटासले माटोमा भएको खाद्य पदार्थलाई परिचालन गरी विरुवालाई उपलब्ध गराउने भएकाले पोटासको प्रयोग अनिवार्य रहेको बताइन्छ ।

डीएपी मलको अभाव

सरकारले सहज रुपमा रासायनिक मल नेपाल भित्र्याउन नसकेकै कारण पूर्वमा अझैंपनि डीएपी मलको अभाव देखिएको छ । धान रोप्ने समयमा समेत मल नपाइँदा पूर्वका किसान मारमा छन् । कृषकले रासायनिक मल विनै धान खेती शुरु गरेको बताइन्छ ।

धान खेतीको मुख्य सिजनमा अघिल्लो वर्ष पनि मल अभाव भएको थियो । यस वर्ष पनि डीएपी मलको अभाव भएको कृषि सामग्री लिमिटेड बिर्तामोडका प्रवन्धक पोखरेलले बताए । उनले भने– ‘हामीले झण्डै ५० हजार बोरा डीएपी मल बेच्यौं साल्ट ट्रेडिङ्गले पनि त्यत्ति नै विक्री गरेको छ तर अझैं त्यत्ति नै डीएपी मलको माग छ ।’

तत्काल झापामा ६ हजार बोरा डीएपी मल आउने भनिएपनि एकै पटक डीएपी मल नआउँदा दुई सातादेखि झापामा मलको अभाव देखिएको छ– उनले भने– ‘झापाका लागि आउने भनिएको ६ हजार बोरा मल आए सहज हुन्छ ।’

सहजता बनाउदै साल्ट ट्रेडिड्ड

विगत केही वर्ष यता पूर्वसहित देशैभर यो समयमा रासायनिक मलको अभाव भएपछि साल्ट ट्रेडिङ्गले गत वर्षदेखि गैर अनुदानित मलको विक्री बितरण शुरु गरेको छ । सरकारले कृषकका लागि युरिया, डीएपी र पोटासमा मात्र अनुदान दिँदै आएको छ ।

तर, साल्ट ट्रेडिङ्गले कृषकलाई रसायनिक मलको अभावबाट मुक्त गराउन सिङ्गल सुपर फस्फेट तथा एमोनियम सल्फेट जस्ता रसायनिक मलको विक्री बितरण शुरु गरेको छ ।

माटोमा सल्फर, क्याल्सियम जस्ता मुख्य सहायक तत्वहरुका अतिरिक्त जिङ्क, वोरन जस्ता सूक्ष्म तत्वहरुको अभाव रहेको हुँदा यी तत्वको समेत सहज आपूर्तिका लागि साल्ट ट्रेडिङ्गले सिङ्गल सुपर फस्फेट तथा एमोनियम सल्फेट जस्ता रासायनिक मलको विक्री बितरण शुरु गरेको शाखा प्रमख भट्टराईले बताए ।

उनले भने– एमोनियम सल्फेट नामक रासायनिक मलमा विरुवालाई चाहिने २१ प्रतिशत नाइट्रोजन, २४ प्रतिशत सल्फर रहेको हुन्छ भने सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, २१ प्रतिशत क्याल्सियम, र १२ प्रतिशत सल्फर हुने भएकाले विरुवाले यी मलको प्रयोगले आवश्यक पोष्टिक तत्व प्राप्त गर्नसक्छन् ।

पछिल्लो समय एक करोड ४ लाख ४९ हजार ८ सय ८५ रुपैयाँको यो मल विक्री भएको बताइन्छ । वारम्वार रसायनिक मलको अभाव हुनु र साल्ट ट्रेडिङ्गले सिङ्गल सुपर फस्फेट तथा एमोनियम सल्फेट जस्ता रासायनिक मल विक्री शुरु गरेपछि यहाँका कृषकले यो मलको प्रयोग गर्न थालेको साल्ट ट्रेडिङ्गका शाखा प्रमुख भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर