Aamsanchar

जामुनखाडी सिमसारलाई धनुषकोटीधामसँग जोड्ने सडक कालोपत्रे

Author Image
बिहिवार, असार २८, २०७५

सुरुङ्गा।

झापाको कनकाई नगरपालिका–२ स्थित पर्यटकीय स्थल जामुनखाडी सिमसारलाई अर्को धार्मिक तथा पर्यटकीय स्थल
धनुषकोटीधामसँग जोडिने भएको छ ।

जामुनाबारी सामुदायिक वन समूह अन्तर्गत रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वकै चर्चित पर्यटकीय क्षेत्र मानिन्छ । त्यस्तै धनुषकोटीधाम धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ ।

ती दुई पर्यटकीय स्थललाई जोड्नका लागि पहिलो चरणमा उक्त रिङरोड नामले प्रशिद्ध पर्यटन मार्गको जामुनखाडी सिमसार गेटदेखि त्रिवेणीचौकसम्मको आठ सय ६० मिटर बाटो कालोपत्रे गरिएको छ ।

सो कालोपत्रे गरिएको बाटोको चौडाइ पाँच मिटर र मोटाइ ४० एमएम रहेको छ । उक्त बाटो निर्माणको लागि ४३ लाख ६३ हजार रुपैयाँ लागत लागेको र यसका लागि कनकाई नगरपालिकाबाट २० लाख, जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहबाट २० लाख र सरोकारवाला उपभोक्ताबाट तीन लाख ६३ हजार रुपैयाँ जुटाइएको बाटो निर्माण समितिका अध्यक्ष गम्भीरबहादुर राईले जानकारी दिए ।

सो बाटो निर्माणका लागि राईको अध्यक्षतामा सात सदस्यीय बाटो निर्माण समिति गठन गरिएको थियो । राई जामुनाबारी वन समूहका पूर्व उपाध्यक्ष हुन् । बाटो निर्माण समितिको उपाध्यक्षमा हरि कार्की, सचिवमा मनिता राई र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ रहेका थिए । सदस्यहरुमा कृष्णबहादुर चौहान, रेणुका खवास र दुर्गा बर्देवा रहेका थिए । त्यसरी नै अनुगमन समितिको संयोजकमा दिलकुमार राई र सदस्यहरुमा कृष्ण गिरी, दीपक बोहोरा, नन्दकुमारी थापा र मनकुमारी थापा रहेका थिए ।

जामुनखाडी, धनुषकोटीधाम र कनकाईधाम कोटीहोम जोड्ने गुरुयोजना भएकाले यो बाटोलाई कनकाई नगरको पर्यटकीय चक्रपथ (रिङरोड) पनि मानिन्छ । यसरी कालोपत्रे बनाउने काम सम्पन्न भएकोलाई स्थानीयले शसभ शुरुवात मानेका छन् । जामुनाबारी वन समूहका कोषाध्यक्ष बुद्धिमान बोहोराले पर्यटन मार्ग बनाउने अवधारणा अनुसार कनकाई नगरपालिकाले बजेट छुट्याउनु र सो अनुरुप गुणस्तरीय रुपमा काम सम्पन्न हुनु खुशीको कुरा भएको बताए ।

बोहोराले भने– ‘यही क्रममा अघि बढ्ने हो भने केही वर्षभित्रमा जामुनखाडी र धनुषकोटीलाई कालोपत्रे बाटोले जोड्ने हाम्रो सपना पूरा हुनेछ ।’ आगामी आर्थिक वर्ष २०७५÷०७६ मा कनकाई नगरपालिकाबाट हालै सार्वजनिक गरिएको बजेट मार्फत जामुनखाडी र धनुषकोटीवीच रहेको भुरुङ्गाखोलामा पुल हाल्न ३० लाख रुपैयाँ र पर्यटन मार्ग विस्तारका लागि २० लाख रुपैयाँ विनियोजन भएको कोषाध्यक्ष बोहोराले जानकारी दिए ।

अहिले निर्माण सम्पन्न भएको सडकखण्डका उपभोक्ता डम्बरबहादुर बर्देवाले बाटो कालोपत्रे भएकोमा खुशी व्यक्त गरे । उनले नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल तथा जामुनाबारी वन समूहका अध्यक्ष खेमराज सिटौला लगायत सबै समितिहरुलाई धन्यवाद दिए । तर, बर्देवाले किनारामा नाली नबनाई कालोपत्रे गरिएकाले सडकको छेउ उक्किएर भत्किँदै जाने पो हो कि भनेर चिन्ता व्यक्त गरे ।

आफ्नै घर अगाडि कालोपत्रे बाटो बन्ने योजना बनिनु र सोही अनुसार काम सम्पन्न भएकोमा बर्देवाले सन्तोष व्यक्त गरे । बाटो कालोपत्रे गरिएपछि जामुनखाडी वा धनुषकोटीधाम वा दोमुखा आएका पर्यटकहरु अर्को ठाउँमा जान सहज हुने देखिन्छ । यस अघि नै धनुषकोटी र दोमुखा जोड्ने झोलुङ्गेपुल सञ्चालनमा आइसकेको छ भने धनुषकोटीधामलाई कोटीहोम जोड्ने बाटोको रेखांकन पनि भइसकेको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर