Aamsanchar

बिरुवा मरे सय रुपैयाँ जरिवाना

Author Image
बिहिवार, असार २८, २०७५

 दाङ, 

तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ ।

कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो ।

अझै ११ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा छ । कार्यालयले किसानलाई लक्ष्य गरी बीस हेक्टर जमीनमा फलफूलका बिरुवा उत्पादन गरेको थियो । आफूले उत्पादन गरेका बिरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले बताउनुभयो ।

वडा कार्यालयबाट सिफारिश लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा बिरुवाका दरले निःशुल्क रुपमा वितरण गरिँदैआएको छ ।

“बिरुवा लगेर जोगाउनेलाई प्रतिबिरुवा रु एक सय दिएर प्रोत्साहन गर्छौं । यहाँबाट लगेको बिरुवा मरेमा प्रतिबिरुवा रु एक सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौँ,” उहाँले भन्नुभयो ।

वितरण गरिएका बिरुवामा सबैभन्दा बढी कागती, लिची, कटहर, अमला, लिची, अनार र अम्बा रहेका छन् । केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट बिरुवा जोगाउनेलाई प्रोत्साहन तथा बिरुवा मरेमा कारबाही गर्ने नीति पारित गरेको छ ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर