मस्कोको लुज्निकी रंगशालामा मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २—१ ले हराएर इतिहास रच्दै बुधबार साँझ पहिलोपल्ट विश्वकपको फाइनलमा पुगेको छ । खेलको सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो । किरन ट्रिपरको फ्रि—किक गोलसँगै इंग्ल्यान्डलाई १—० ले अघि बढाएर ५२ वर्षपछि विश्वकपको फाइनल खेल्ने सम्भावना बढाएका थिए । तर, क्रोएसियाली खेलाडीको निकै राम्रो खेल कौशल र मिहिनेतको अगाडि इग्ल्याण्डको फाइनल खेल्ने सपना चकनाचुर भयो ।
विश्वकपको फाइनलमा प्रवेश गरेसँगै क्रोएसियाको शान र मान बढ्दै गएको छ । ब्राजिल, एर्जेन्टिना, इग्ल्याण्ड, जर्मनी जस्ता देशको नामहरु वल्र्डकपको इतिहासमा सुन्दै आएका नेपालीका लागि पनि क्रोएसिया कस्तो देश हो भन्ने आम चासो बढेको छ । नेपालभन्दा भूगोल र जनसंख्यामा निकै सानो देश क्रोएसिया पूर्वी युरोपियन देश हो । जुन क्षेत्रको फुटबल क्रेजले गर्दा यस देशलाई युरोपको ब्राजिलको रुपमा पनि चिनिन्छ । युगोस्लाभियाबाट २५ जुन १९९१ म स्वतन्त्र भएको यस देशको क्षेत्रफल ५६ हजार ५४२ बर्ग किलोमिटर रहेको छ । झण्डै एक हजार वटा टापु रहेको यस देशको जनसंख्या सन् २००४ को तथ्यांकअनुसार ४४ लाख ९६ हजार ८६९ रहेको छ । दोस्रो विश्वयुद्ध ताका नै क्रोएसियन राष्ट्रिय फुटबल टोलीको गठन भए पनि युगोस्लाभियामा बिलयसँगै यो देशको फुटबल संघ भंग भएको थियो ।
सन् १९८२ मा नेपाली फुटबलको राष्ट्रिय टोली राजु शाक्यको कप्तानीमा वल्र्डकपको अभ्यासका लागि चीन जाँदा क्रौएसिया भन्ने देश युगोस्लाभियाबाट स्वतन्त्रसम्म हुन सकेको थिए । त्यतीबेला नै नेपाली फुटबल टोलीको विश्वकप खेल्ने सपना चाहीँ थियो तर नेपाली फुटबल दक्षिण एसियाको घेराभन्दा बाहिर आउन सकेन । नेपालको क्लब र लिगहरु बलिया भएनन् । चरम राजनीतिक अस्थिरताको मारमा नेपाली फुटबल क्षेत्र पनि प¥यो । नेपाली फुटबल क्षेत्रको लागि पनि क्रोएसियाली फुटबल टोली राम्रो उदाहरण भएर रहेको छ ।
युगोस्लाभियाबाट स्वतन्त्र भएपछि सन् १९९८ मा विश्वकपको तेस्रो राष्ट्र बन्न सफल भएको क्रोएसिया सन् २००२, २००६ र २०१४ मा समूह चरणबाटै बाहिरियो । अहिले लुका मोडरिकको टिम कप्तानीमा विश्वकपको महासंग्राममा होमिएको क्रोएसियाली फुटबल टोली विश्वकपको उपाधि चुम्ने प्रतिस्पर्धामा प्रयासरत रहेको छ । फिफाको बरियतामा समूह ‘डी’ मा रहेको क्रोएसिया ९ अंकसहित अर्जेन्टिना भन्दा अगाडि रहेको थियो । यदि क्रोएसियाले विश्व कपको उपाधि उचालेमा विश्व मानचित्रमा नै क्रोएसियाको स्थान अझ उचाइमा पुग्नेछ । नेपालभन्दा सानो र शान्त यो देशले गरेको विकास र प्रगतिबाट नेपालले पनि सिक्न जरुरी छ । –एजेन्सीको सहयोगमा