Aamsanchar

कनकाईका सामुदायिक र निजी विद्यालयबीचमा भगिनी सम्बन्ध

Author Image
शुक्रवार, असार २९, २०७५

सुरुङ्गा।

कनकाई नगरपालिकामा सामुदायिक र निजी विद्यालयहरुबीच भगिनी सम्बन्ध स्थापना गरिने भएको छ । कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयहरुमा देखिएको भिन्नतालाई न्यूनीकरण गर्न भगिनी सम्बन्धको विकास गरी आपसी सहकार्य गराउने किसिमका कार्यक्रम सञ्चालन गर्ने सार्वजनिक गरेको छ ।

संस्थागत र सामुदायिक विद्यालयमा पठनपाठन, नियमितिता, अनुशासन र गुणस्तरलाई समानरुपमा अघि बढाउन र एकअर्काका असल परम्पराबाट सिक्न अभिप्रेरित गर्ने उद्देश्यले नगरपालिकाले सो कार्यक्रम अघि बढाएको जनाएको छ ।

सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा गुणस्तरीय शिक्षा हुने आम अभिभावकको सोचलाई परिवर्तन गरी राज्यले लगानी गरेका सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भावनाको विकास गर्न उक्त नीतिलाई अघि सारिएको कनकाई नगर कार्यपालिकाका सदस्य नबलकिशोर दत्तले बताए ।

कनकाई नगरपालिकामा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्ने र सामुदायिक विद्यालयका शिक्षकहरुको आत्मबल उकास्न स्वउत्प्रेरणा जगाउने खालका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुको क्षमता विकास गरी शिक्षाप्रति आकर्षण बढाउँदै गुणस्तरीय शिक्षामा सरोकार सबैलाई एकीकृत गराउने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

शिक्षा तथा सामाजिक समितिका संयोजक समेत रहेका दत्तले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्य सम्पादन करार गरी कामकार्यको मूल्यांकन गरिने र शिक्षकहरुको गुण र दोषको आधारमा पुरस्कृत र दण्डित गर्ने प्रणालीको विकास गरिने बताए ।

नगरले वार्षिक नीतिमार्फत विद्यालय कर्मचारी तथा बाल शिक्षा शिक्षकहरुको हितमा ध्यान दिने र निजहरुको सुविधामा सघाउने तर्फ आवश्यक व्यवस्था मिलाइएको र सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको कार्य सम्पादन परीक्षण र मूल्यांकन गरी सामुदायिक विद्यालयहरुमा विद्यालयको आवश्यकता केन्द्रित कार्यक्रम सञ्चालन गरिने तथा संस्थागत विद्यालयहरुमा शुल्क निर्धारण गर्ने आधार बनाइने बताइएको छ ।

त्यसैगरी, नगर शिक्षा समितिका सदस्य ओम पाठकले नगरले वार्षिक नीति मार्फत नगरपालिकाभित्र अध्ययन गर्ने विद्यार्थीहरुको भाषिक सन्तुलन कायम गर्न ‘अंग्रेजी जान्नै पर्ने, नेपाली झनै राम्रो बनाउने’ आदर्श वाक्य तय गरी सामुदायिक विद्यालयमा अंगे्रजी तथा संस्थागत विद्यालयमा नेपालीको भाषिक ज्ञान प्रबद्र्घन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।

त्यसैगरी, भगवती आधारभूत विद्यालय चप्रामारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पाठकले नगरभित्र, अन्तर तह, अन्तर जिल्ला र अन्तर प्रदेशमा भएका गतिविधिको अध्ययन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शैक्षिक अवलोकन भ्रमणको व्यवस्था मिलाइने, बालकेन्द्रित शिक्षण सिकाइमा जोड दिन शिक्षकहरुलाई अभिप्रेरित गर्ने कार्यक्रम अघि सारिएको बताए ।

उनले बालबालिकाको रुची बमोजिमका क्रियाकलाप सञ्चालन गराउने व्यवस्था मिलाइने, विद्यार्थीको रुचिको अभिलेख राखी स्थानान्तर प्रमाण पत्रमा चरित्रका अतिरिक्त रुची समेत उल्लेख गराउने व्यवस्था गरिने, विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने किसिमका अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सञ्चालन गरिने लगायतका कार्यक्रम अघि सारिएको बताए ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर