अनि प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको शालीन मौनता । अनि साउन रंगिन्छ मानवका सुकुमार भावहरुसँगै बतासिएर । हो, प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन देवाधिदेव महादेव शिवको समेत प्रिय महिना ।
नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ ।
रात लामो, दिन छोटो
साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।
शुभ महिना
चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् । सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ ।
यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।
सुन्ने महिना
श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए ।
त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो । यसलाई आदिगुरु भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ ।
सात्विक महिना
साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूणिर्मा, गाईजात्रा आदि पर्व पर्छन् ।
साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा(मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ ।
शिवको महिना
विशेष गरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।
साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास गरिन्छ ।
उपवासको महिना
हिजोआज साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ ।
त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो ।
त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो । शिवलाई जलधार सारै प्रिय छ । प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ ।