Aamsanchar

झापामा ५७ प्रतिशत रोपाई हुदाँ,प्रदेश १ मा ५३ प्रतिशत मात्र

Author Image
मङ्गलवार, साउन १, २०७५

झापा ।

प्रदेश १ मा असार सम्ममा ५३ दशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ । सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ३० प्रतिशत धान रोपाइँ भएको हो ।

प्रदेश १ को कुल खेती योग्य जग्गा ३ लाख ३५ हजार ५ सय २९ हेक्टरमध्ये १ लाख ७९ हजार ९ सय ७० दशमलव ८५ हेक्टरमा धान रोपाइँ भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुस्थित कुल धान खेती योग्य २४ हजार १ सय १३ हेक्टर जग्गामध्ये १३ हजार ६ सय ४४ दशमलव ५२ हेक्टरमा गरी ५६ दशमलव ५९ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयको तथ्यांकले जनाएको छ ।

ताप्लेजुङस्थित ८ हजार ७ सय ३६ हेक्टरमध्ये ६ हजार ६ सय ४० दशमलव १२ गरी ७६ प्रतिशत, संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टरमध्ये ५ हजार ५ सय ४० गरी ४० प्रतिशत र सोलुखुम्बुको १ हजार ५ सय २५ हेक्टरमध्ये १ हजार ४ सय ६४ गरी ९६ प्रतिशतमा रोपाइँ भएको छ । पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर ओखलढुंगा र खोटाङस्थित कुल ९० हजार ९ सय १६ हेक्टर धान खेती योग्य जग्गामध्ये ४८ हजार ८ सय १ दशमलव ३३ हेक्टर गरी ५३ दशमलव ६८ प्रतिशत रोपाइँ भएको हो ।

पाँचथरको ९ हजार २ सय ३ हेक्टरमध्ये ४ हजार ५ सय ९ दशमलव ४७ गरी ४९ प्रतिशत, इलामको १४ हजार ८ सय १५ हेक्टरमध्ये ५ हजार १ सय ८५ दशमलव २५ गरी ३५ प्रतिशत, भोजपुरको १८ हजार ९२ हेक्टरमध्ये १४ हजार ४ सय ७३ दशमलव ६ गरी ८० प्रतिशतमा रोपाइँ भएको छ ।

यस्तै, तेह्रथुमको १० हजार १ सय ७५ हेक्टरमध्ये ७ हजार १ सय २२ दशमलव ५ गरी ७० प्रतिशत, धनकुटाको ७ हजार ९ सय ५० हेक्टरमध्ये २ हजार ३ सय ८५ गरी ३० प्रतिशत, उदयपुरको १३ हजार ३ सय ८० हेक्टरमध्ये ५ हजार ३ सय ५२ गरी ४० प्रतिशत, ओखलढुंगाको ४ हजार ४ सय ३ हेक्टरमध्ये २ हजार ४ सय २१ दशमलव ६५ गरी ५५ प्रतिशत र खोटाङको १२ हजार ८ सय ९८ हेक्टरमध्ये ७ हजार ३ सय ५१ दशमलव ८६ गरी ५७ प्रतिशतमा रोपाइँ भएको हो ।

यस्तै, तराईको झापा, मोरङ र सुनसरीस्थित कूल २ लाख २० हजार ५ सय हेक्टर धान खेती योग्य जग्गामध्ये १ लाख १७ हजार ५ सय २५ हेक्टर गरी ५३ दशमलव ३० प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांकले जनाएको छ । झापाको ८७ हजार ५ सय हेक्टरमध्ये ४९ हजार ८ सय ७५ गरी ५७ प्रतिशत, मोरङको ७८ हजार हेक्टरमध्ये ४२ हजार ९ सय गरी ५५ प्रतिशत र सुनसरीको ५५ हजार हेक्टरमध्ये २४ हजार ७ सय ५० गरी ४५ प्रतिशतमा रोपाइँ भएको छ ।

प्रदेश १ को १४ जिल्लाको कूल २६ लाख ४२ हजार ३ सय १० हेक्टर क्षेत्रफलमध्ये खेती योग्य ९ लाख २७ हजार ४ सय १९ हेक्टरमा धान खेती योग्य कूल ३ लाख ३५ हजार ५ सय २९ हेक्टरमध्ये १ लाख ७९ हजार ९ सय ७० दशमलव ८५ हेक्टर गरी ५३ दशमलव ६४ प्रतिशतमा धान रोपाइँ भएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीले अहिले सम्मको धान रोपाइँ सन्तोषजनक नै रहेको बताउनुभयो ।

‘गत वर्ष यही समयसम्ममा करीब ३७ प्रतिशत मात्रै धान रोपाइँ भएको तर यस वर्ष करीब ५४ प्रतिशत सक्नु राम्रो अवस्था हो,’ उहाँले भन्नुभयो, ‘प्रदेश १ स्थित कुल धान खेतमध्ये ६६ प्रतिशत सुनसरी, मोरङ र झापामा रहेको छ । सो जिल्लाहरुको उत्तरी क्षेत्रमा वर्षा पनि भइरहेको र नहर कुलोको सिंचाईले रोपाइँ अन्तिम अवस्थामा पुगेको तर दक्षिणी क्षेत्रमा प्रर्याप्त वर्षा नहुनु र सिंचाईको साधन भरपर्दो नभएकोले कम रोपाइँ भएको हो ।

बोर्डिङ्गबाट पम्पसेट र मोटरले सिंचाई गरेर दक्षिण क्षेत्रका किसानहरुले पनि रोपाइँ गरिरहेका छन् ।’ उहाँले पूर्वाञ्चलको सप्तरीको ७० हजार हेक्टरमध्ये १९ हजार ६ सय गरी २८ प्रतिशत र सिरहाको ६० हजार ७ सय ५७ हेक्टरमध्ये २४ हजार ३ सय २ दशमलव ८ गरी ४० प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो ।

पूर्वाञ्चलको १६ जिल्लाको कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमध्ये २ लाख २३ हजार ८ सय ७३ दशमलव ६५ गरी ४८ दशमलव ०१ प्रतिशतमा रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । असार दोस्रो सातासम्ममा १० प्रतिशत मात्रै रोपाइँ भएको तर अहिले करीब ५४ प्रतिशत रोपाइँ सकिसकेकोले साउन १५ गतेसम्ममा सम्पन्न हुने अवस्था देखिएको उहाँको भनाई छ ।

‘असार १५ देखि साउन १५ सम्ममा धान रोपाईंको मुख्य समय हो,’ उहाँले भन्नुभयो, ‘किसानले असार १५ देखि साउन १५ गतेसम्ममा धान रोपाइँ गरी सक्नु पर्ने हो र त्यसपछि धान रोप्दा उत्पादन घट्छ ।’ अधिकारीले सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर मोरङस्थित लोहन्द्रा खोलाको बाढीले गत वर्ष बगाएपछि मर्मत हुन नसकेकोले जिल्लाको पूर्वी क्षेत्रका किसानहरु सिंचाइ सुबिधाबाट वञ्चित भएको जानकारी दिनुभयो ।

लोहन्द्रा सिंचाई आयोजनाले खोलामा च्यानलाइजेशन गरेर लोहन्द्रा पूर्वको किसानका लागि सिंचाइको व्यवस्था गरे पनि प्रभावकारी हुन नसकेको उहाँको भनाई छ । प्रदेश १ को १४ जिल्लामा कुल खेती भइरहेको ८ लाख ९४ हजार ७ सय ६५ हेक्टर जग्गामध्ये ३ लाख १७ हजार ८ सय २२ हेक्टर सिञ्चित रहेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत अभिमन्य अधिकारले बताउनुभयो ।

उहाँले १ लाख ७७ हजार १ सय २५ हेक्टरमा बाह्रै महिना र १ लाख ४० हजार ३ सय ६३ हेक्टरमा मौसमी सिंचाई भइरहेको जानकारी दिनुभयो ।–रेडियो कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर