Aamsanchar

आयो चिनियाँ टोली आजबाट झापाका ९ नदीको अध्ययन

Author Image
बुधवार, साउन २, २०७५

भद्रपुर।

झापाका नदी तथा खोलाले बर्षेनि मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै यसको नियन्त्रण तथा रोकथामका बारेमा अध्ययन गर्न चीनबाट सात सदस्यीय प्राविधिक टोली मंगलबार झापा आएको छ ।

चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी अन्तर्गत प्राविधिकविज्ञ मिस्टर याउसहितको सात सदस्यीय टोली झापा आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल जानकारी दिए ।

उनका अनुसार चीनबाट आएको टोली र नेपालकातर्फबाट सिञ्चाई मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्धनका इञ्जिनियरसहितको टोलीले झापामा दुई साता बसेर ९ वटा नदीको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने छन् ।

छिमेकी राष्ट्र भारतको सीमावर्ती नाका छोएको मेची नदी बाहेक झापाको निन्दा, हडिया, विरीङ, माई, कमल, कृष्णे, रतुवा, मावा र सतासी नदीको अध्ययन गर्ने उनले बताए । झापाको समृद्धि र विकाससँगै नदी तथा खोलालाई व्यवस्थित बनाउन नसक्दा बर्षेनि जनधनको ठूलो क्षति हुने गरेको बिषयमा गत फागुन २७ गते जिल्ला समन्वय समिति झापा र सांसदसहितको टोलीले काठमाडौ पुगेर प्रधानमन्त्रीलाई भेटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा झापाको समग्र बिषयवस्तु प्रस्तुत गर्दै टोली नदी नियन्त्रणको बारेमा समेत जानकारी गराएको थियो ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा गएको बेला सोही असार ६ गते सिञ्चाई मन्त्रालय र चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीबीच झापाको नदीको अध्ययनको बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापछि टोली झापा आएको हो’– जिसस प्रमुख पोर्तेलले भने– ‘यस टोलीले ९ वटा नदीको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन दिएपछि कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसपछि मात्र थाहा हुन्छ ।’

झापामा साना ठूला गरी दुई दर्जन नदी रहे पनि यीमध्ये नौवटा नदीले वर्षेनि ठूलो मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । खोलाबाट वर्षेनि पीडित बन्दै आएका जिल्लावासीका लागि प्रधानमन्त्री ओलीको विशेष पहलमा नदीको स्थायी तटवन्धसहितको बाँधमाथि औद्योगिक एवम् कृषि सडक बनाउने रणनीति रहेको बुझिएको छ ।
दमक औद्योगिक पार्क निर्माणका लागि मावा र रतुवा खोलामा स्थायी तटवन्ध गर्नुपर्ने भएपछि प्रधानमन्त्रीको भ्रमणका क्रममा जिल्लाका नदीहरुको स्थायी तटवन्धको सम्झौता भएको प्रदेशसभा सदस्य झलकसिंह दर्लामीले जानकारी दिए ।

चीनबाट आएको टोलीले यी नदीको स्थलगत अवलोकन गर्नुका साथै नदीले पु¥याउँदै आएको क्षतिवारे जानकारी लिने प्रधानमन्त्री कार्यालयका होमबहादुर थापाले बताए । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार यी नौ नदीका कारण यस वर्षको वर्षामा जिल्लाका ८५ वटा गाउँ डुवान र कटानको जोखिममा छन् ।

चीनबाट आएको टोलीलाई चन्द्रगढी विमानस्थलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य एलपी साँवा, प्रदेशसभा सदस्य हिरा थापा, झलकसिंह दर्लामी, श्रीप्रसाद मैनाली, गोपाल वुढाथोकी, पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरप्रमुख हरिकुमार राना लगायतले स्वागत गरेका थिए ।

नदीको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ टोली कनकाई नगरपालिकामा रहेको होटल डिलाइटमा रहेको छ । चिनियाँ टोलीसँगै ऊर्जा र सिञ्चाई मन्त्रालयका अधिकारी पनि झापा आएको प्रतिनिधिसभा सदस्य दर्लामीले बताए । झापाका नदीहरुको अध्ययन आज बुधवारबाट हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर