काठमाडौं ,
वरिष्ठ डाक्टर गोविन्द केसीले सरकारले आफूलार्इ अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाएका छन्। उनले शिक्षण अस्पतालमा बिहीबार बेलुकी पत्रकार सम्मेलन गरेर सरकारले आफूलार्इ बल प्रयोग गरेर जबरजस्ती काठमाडौं ल्याएको बताएका हुन्।
‘सरकारसँग डराएर नभर्इ जुम्लाका जनतामाथिको ज्यदती सहन नसकेर काठमाडौं जान्छु भनेको थिएँ तर सरकारले मलार्इ जबरजस्ती ल्यायो’, डा केसीको भनाइ उद्धृद गर्दै उनका प्रतिनिधि नारायण कणेलले भने। डा केसीले आफूलार्इ काठमाडौं ल्याउने क्रममा भएको झडपको निस्पक्ष छानबिन गर्न माग गरेका छन्।
साथै उनले आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान कायमै राखेका छन्। उनले आफ्नो माग पूरा नभएसम्म कुनै पनि स्वास्थ्य जाँच नगर्ने र मनिटर पनि प्रयोग नगर्ने अडान राखेका छन्।
चिकित्सा शिक्षा सुधारका लागि विगत २० दिनदेखि जुम्लामा अनशनरत डा केसीलार्इ सरकारले बिहीबार बेलुकी काठमाडौं ल्याएको हो। उनलार्इ अहिले शिक्षण अस्पतालमा यसभन्दा अघि अनशन बस्दै आएको स्थानमा राखिएको छ।
उनले त्यहाँबाट अनशन सुरु गरेका छन् भने उनको समान्य उपचार पनि त्यहीँ हुँदैछ। उनले आफ्ना माग पूरा नभएसम्म आइसियुमा जान अस्वीकार गरेका छन्।
यसबीच उनलार्इ अभिनेत्री मनिषा कोइरालाले र कांग्रेस नेता गगन थापाले अलगअलग भेटेर डा केसीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।-थाहाखबरबाट