Aamsanchar

पुरस्कार लिनुअघि दाताबारे ध्यान दिन आग्रह

Author Image
शनिवार, साउन ५, २०७५

काठमाडौँ,

के कुनै संस्थाले तपाईँलाई पुरस्कार दिने घोषणा ग¥यो भने मुस्कुराउँदै हात थाप्नुहुन्छ ?

समीक्षकहरु कुनै संस्थाले पुरस्कार घोषणा गर्नेबित्तिकै हात थाप्न नहुने सल्लाह दिँदै त्यसले एउटा राम्रो साहित्यकारको साहित्यिक क्षमतामा ह्रास ल्याउने बताउँछन् । प्रत्येक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुने बातलावा (बहस) कार्यक्रममा ‘पुरस्कारमा राजनीति’ विषयको बहसमा साहित्यकार श्यामलले पुरस्कार लिनुअघि पुरस्कार दिने संस्थाबारे ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“स्वदेश तथा विदेशमा दिइने पुरस्कारमा राजनीति प्रवेश भइरहेका हुन्छन् । त्यस कारण पुरस्कार पाएको पुस्तक वा साहित्यकार मात्र उत्कृष्ट हुन् भन्ने धारणा गलत हो । पुरस्कृत नभएका साहित्यकार पनि विश्वचर्चित भएका थुप्रै उदाहरण छन्”, कवि तथा निबन्धकार श्यामलले भन्नुभयो ।

पुरस्कार नपाउनेमा रुसका लियो टोस्ल्टय, अर्जेन्टिनाका चे ग्वेभारा, जर्मनीका ब्रतोल्ट ब्रेख्त तथा फ्रान्सका जाँ पल सात्र विश्वप्रसिद्ध साहित्यकार यसका उदाहरण हुन् । सन् १९०१ मा स्थापित नोबेल पुरस्कार विश्वप्रसिद्ध पुरस्कारमा गनिन्छ । केही पुरस्कार साहित्यकार श्यामलले साहित्यका माध्यमबाट समाजलाई विशिष्ट योगदान दिने साहित्य वा कलाको मान्यता नै पुरस्कार भएको बताउनुभयो ।

“पुरस्कार नपाउनु अस्वीकृत हुनु होइन । त्यो पुरस्कारका नियन्ताहरुको दृष्टिको कुरा हो । त्यसले कृति वा कृतिको गुणवत्तामा तात्विक अन्तर ल्याउँदैन तर पनि योग्यतम रचनाकारको खोज पुरस्कारको अभीष्ट हुनुपर्छ ”, उहाँको मान्यता नै छ । श्यामल आफैँले पनि विसं २०७३ को साहित्य सन्ध्या पुरस्कारलगायत पुरस्कार पाउनुभएको छ ।

स्वदेश तथा विदेशी पुरस्कारमा राजनीतिक प्रभाव रहेको तर्क गर्दै उहाँले नोबेल पुरस्कार पनि राजनीतिबाट प्रभावित भएको र लामो समयसम्म माओत्से तुङको मुलुक चीनलाई पुरस्कार नदिने गरिएको स्मरण गराउनुभयो । मदन पुरस्कार नेपालको नोबेल पुरस्कार भनिए पनि त्यसमा राजनीतिक गन्ध रहेको उहाँको भनाइ थियो ।

नेपालमा पुरस्कारको स्थापना बाबुआमाको स्मृति र दुर्घटनामा परेका छोराछोरीको नाममा पुरस्कार स्थापना गर्ने गरिएको बताउँदै उहाँले साहित्यिक पुरस्कार दातासँग साहित्यसम्बन्धी आधारभूत ज्ञान नहुने गरिएको भनाइ पनि राख्नुभयो । पुरस्कार दिने संस्थालाई कर नलाग्ने तर पुरस्कार लिने व्यक्तिसँग भने कर लिइने गरेकामा पनि उहाँले आपत्ति जनाउनुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी अर्थात् श्यामलले पुरस्कारले असल स्रष्टाको मानमर्दन हुने भएकाले राम्रो साहित्यकारलाई प्रतियोगिता बाहिर बसेर लेखनकलालाई बलियो बनाउन सुझाव दिनुभयो । ‘बातलावा’की विभूति भट्टराईले नेपालमा पुरस्कारमा निकै राजनीतिका गन्ध आउने भएकाले यसबारे बहस चलाइएको बताउनुभयो । कार्यक्रममा देवकी तिमिल्सिना, रिमा केसी, प्रेमिला राई, मदन प्रभात र बम बानियाँले कविता वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर