Aamsanchar

देवी माविमा अझै छाप्रामा पढाइ

Author Image
शनिवार, साउन ५, २०७५

बिर्तामोड ।

देवी माविमा विद्यार्थी व्यवस्थापन गर्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको छ ।
विद्यालयले २०६७ सालबाट कक्षा ११, १२को पठनपाठन शुरु गरेसँगै देवी माविमा विद्यार्थीको चाप बढेको हो । त्यसमाथि विज्ञान संकायमा समेत पठनपाठन हुन थालेपछि विद्यार्थीको संख्या ह्वात्तै बढ्यो । जसका कारण विद्यालय प्रशासनलाई भवन अपुग हुँदा भएका विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या भएको छ ।

विद्यालयले सात वटा टहरामा अहिले कक्षा सञ्चालन गरिरहेको छ, भएका भवनले विद्यार्थी धान्न नसकेपछि छाप्रामा राखेर पढाउनुको विकल्प नभएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । उनले भनिन्– भूकम्पीय दुई वटा ब्ल्कसहित २५ वटा कोठामा पढाइ हुन्छ । केही बर्ष यता विद्यार्थीको चाप अधिक भएपछि छाप्राले बारेका सात वटा कोठामा विहानी र दिवा सत्रका कक्षा सञ्चालन गर्नुको विकल्प छैन ।

समाजसेवी रामबाबु प्रसाईं र उनका छोरा टोरुप प्रसाईंले प्रदान गरेको एक विगाह जमिनमा विद्यालय सञ्चालित छ । सो विद्यालयमा अहिले कक्षा १देखि १०सम्म एक हजार ६ सय ४५ विद्यार्थी अध्ययनरत् छन् भने कक्षा ११ र १२मा एक हजार सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । कक्षा ११को पठनपाठन आइतवारबाट हुने भएपछि विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप दिनानुदिन बढिरहेको प्रधानाध्यापक श्रेष्ठले बताइन् ।

विद्यालयमा शिक्षकको दरबन्दी ३९ मात्र छ । तर, विद्यार्थी संख्या भने अत्यधिक भए पछि निजी स्रोतसहित अहिले शिक्षक कर्मचारी गरेर एक सय ४० जना कार्यरत छन् । कक्षा ११, १२ पठन–पाठनका लागि विद्यालयलाई दुई वटा मात्र अनुदान कोटा प्राप्त भएको छ । त्यो कोटाले १७ सय बढी विद्यार्थीलाई धान्न सक्ने अवस्थै रहेन– प्रधानाध्यापक श्रेष्ठले भनिन्– निजी स्रोतबाट शिक्षक राखेर अहिले जसोतसो काम चल्दैछ । अन्य विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्न देवी माविले कञ्जुस्याँई गरेको छैन– प्रधानाध्यापक श्रेष्ठले भनिन्– निजी विद्यालयबाट समेत विद्यार्थी उत्तिकै मात्रामा आइरहेका छन् । कक्षा १देखि कक्षा १०सम्म पठनपाठनका लागि दैनिक ८० जना शिक्षक आवश्यक पर्ने उनको भनाइ छ । तर, विद्यालयमा दरबन्दी भने १देखि १२ सम्मका लागि ३९ मात्रै छ । आधारभूत तहमा ३४ वटा दरबन्दी र माविका लागि ५ वटा मात्र दरबन्दी रहेको उनको भनाइ छ । हाल कक्षामा ११ र १२मा विज्ञान संकायसहित व्यवस्थापन, कला र शिक्षष विषयको पठनपाठन भइरहेको छ ।

विद्यार्थीको चाप बढेपछि हाल विद्यालय एक करोड ६० लाख रुपैयाँको लागतमा भवन निर्माण शुरु भएको छ । शिक्षा विभागबाट प्राप्त ३६ लाख र नगरपालिकाबाट प्राप्त २५ लाख गरी ६१ लाख रुपैयाँ अनुदान पाएपछि विद्यालयले १२ कोठे भवन निर्माण शुरु गरेको हो । तर, सो भवन निर्माण गर्न एक करोड ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । (भिडियोसहित)

 

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर