डोटी,

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ।

साविक महादेवस्थानको वडा नम्बर ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराका २८ वर्षिया श्रीमती धौली बोहरा, १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण पछेराले बताए।
६ वर्षका सुनिललाई माछा मार्दै गरेका एक व्यक्तिले बताएका छन् भने अन्य तीनजनाको खोजीकार्य जारी छ।

घटना साउन १ गते साँझ भएको भए पनि प्रहरीलाई ढिला गरी साउन ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिए।
सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले ६ वर्षका सुनिललाई बचाउन सफल भए पनि अन्यको अवस्था भने थाहा हुन सकेको छैन। तीन जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष पछेराका अनुसार केही समयदेखि ती महिलाको मानसिक अवस्था ठिक थिएन। भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको १५ दिन मात्र भएको थियो। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान र बेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ।
घटनास्थल डोटीको तलारा क्षेत्रमा पर्दछ। घटना स्थल पुग्न बोहराको घरदेखि ४ घण्टा पैदल हिँड्नुपर्छ। शनिबार बिहानमात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाका बारेमा जानकारी आउने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।-अन्नपूर्णबाट साभार

