काठमाडौँ,

बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् ।

आइतवार एक भिडियो सन्देश जारी गर्दै उनले माफी मागेका हु्न् । विदेश पढ्न र रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको बताउँदै तर अर्को अर्थ लाग्न पुगेको उनले दाबी गरेका छन् ।

आफूले उत्क कुरा सकारात्मक आशयले राख्न खोजे पनि बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरुमाथि चोट परेकाले माफी मागेको बताएका छन् । ‘मेरो भनाइले बंगलादेशमा डाक्टर पढिरहेका नेपाली युवतीको भावनामा पुग्न गएको चोटप्रति माफी माग्छु’, उनले भनेका छन्, ‘मेरो भनाइको आसय गलत थिएन तर उल्टो अर्थ र सन्देश जाँदा समस्या भयो ।’

मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा पढ्न जाने युवतीहरु यौन शोषणमा पर्ने गरेको दाबी गरेका थिए । भिडियो सन्देशसँगै आइतबारै उनले विज्ञप्ती निकालेर पनि माफी मागेका छन् ।-अन्नपूर्ण अनलाईनबाट

