Aamsanchar

नगरपालिकाको हेलचक्राईले एक करोडको पशु बधशाला प्रयोग विहिन,चोक-चोकमा जथाभावी माछामासु पसल

Author Image
मङ्गलवार, साउन ८, २०७५

पार्थ मण्डल/ भद्रपुर ।

करिब एक करोड लागतमा सञ्चालनमा आएको झापाको भद्रपुरस्थित पशुबधशाला प्रयोग विहिन हुने अवस्थामा पुगेको छ । भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको पशु बधशालाको आन्तरिक व्यवस्थापनमा खासै चासो नदेखाउँदा सरकारको एक करोड रुपैयाँ बराबरको लगानी खेर जाने स्थितिमा पुगेको छ ।

नगरका अव्यवस्थित माछा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गराउने उदेश्यका साथ नगरपालिकाले ठूलो लगानीमा पशु बधशालामा निर्माण गरेको हो । तर, अहिले पशु बधशालामा रहेको १० वटा सटर (पसल) मध्ये अहिले चार वटा पसल मात्र सञ्चालनमा छ ।

बधशाला भित्र पसल भाडामा लिएर बसेका व्यवसायी अहिले बधशाला छाडेर नगरको चोक÷चोकमा पसल थापेर माछामासु बिक्रीवितरण गरिरहेका छन् । बधशालालाई व्यवस्थापन गर्न नसक्दा नगरको चोक÷चोकमा माछामासु पसल खोल्ने क्रम समेत बढेको पाइएको छ । यसरी सडक तथा बजार क्षेत्रमा जथाभावी माछामासु पसल खोल्ने क्रम बढेपछि नगरमा दुर्गन्ध फैलिनुका साथै उपभोक्ताले समेत स्वच्छ तथा सफा माछामासु खानबाट बञ्चित हुनु परेको नगरबासीले गुनासो पोख्न थालेका छन् ।

नगरबासीको स्वास्थ्यसंग खेलवाड भएपनि नगरपालिकाका कर्मचारी र निर्वाचित जनप्रतिनिधि यसतर्फ मौन छन् । नगरपालिका भित्र दुई दर्जन बढी माछामासु सञ्चालित छन् । बधशाला बाहिर खोलिएका माछामासु पसललाई नगरपालिकाले अनुमित दिएको छैन । पशु बधशालामा भित्रै सञ्चालित बिजय मासु पसलका सञ्चालक विजय साह भन्छन्– ‘नगरपालिकासंग अनुमति लिएर पशु बधशाला भित्रै मासु बिक्रीवितरण गरिरहेका छौ, यहाँ अहिले चार वटा मात्र पसल भाडामा छ, ६ वटा पसल बन्द अवस्था छ ।’ ‘जथाभावी चोक÷चोकमा माछामासु पसल खोल्ने व्यवसायीलाई नगरपालिकाले कानुन बमोजिम कारवाही गर्न नसक्दा पशु बधशाला प्रयोग विहिन बन्ने अवस्थामा पुगिसकेको छ, उनले भने ।

‘नगरको माछामासु पसललाई व्यवस्थित बनाउन करोड बढी खर्च त गरियो नगरपालिकाले’, उनले थपे, ‘लगानी गरे अनुसारको प्रतिफल नगरपालिकाले लिन नसक्दा भित्रका व्यवसायी मारमा छ ।’ बधशाला भित्र कुनै किसिमको सेवासुविधा नभएको मासु व्यवसायी संदिप साहले गुनासो पोखे ।

‘बधशालामा भित्र न त सरसफाई हुन्छ, न त यहाँको फोहोरमैलाको व्यवस्थापन नै हुन्छ’, उनले भने, त्यसैले बधशाला भित्रका व्यवसायीहरु यहाँबाट पलायन भई बाहिर गएर पसल थापेर बसेका छन् ।’ त्यस्तै राजु माछा पसलका सञ्चालक राजु रायले भने, ‘माछा पसलको लागि बधशाला भित्र नगरपालिकाले कोठा बनाइदिएको छैन, आफ्नै लगानीमा छाप्रो बनाएर माछा बिक्री गरिरहेका छौ ।’ ‘नगरपालिकाले बधशाला भित्र माछा पसलको लागी व्यवस्थित कोठा नबाइदिएकोले अहिले नगरको चोक÷चोकमा माछा बिक्रीवितरण भइरहेको र यसतर्फ कुनै पहल भएको छैन, उनले भने ।

एक करोड रुपैयाँ बालुवामा, ३० लाख फिर्ता

भद्रपुर ५ स्थित बसपार्क छेऊ नगरपालिकाको १९ कठठा जग्गामा बधशालामा निर्माणमा १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ । २०६७ चैतमा कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रलायको जगेडा कोषबाट ४६ लाखलाख र नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया बधशालाको निर्माण भएको हो ।

बधशाला निर्माण कार्य सुरुदेखि नै विवादित बनेको थियो । पहिलो चरणको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराएपनि दोस्रो चरणको कार्य टेण्डर प्रक्रिया मार्फत नगरपालिकाले गराएको थियो । २०७० असारमा सञ्चालन आउनुपर्ने बधशाला तीन बर्षअघि मात्र सञ्चालनमा आएको थियो ।

नगरपालिकाले बधशाला उद्घाटन नगरी सञ्चालन ल्याएको छ । कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनमार्फत जिल्ला पशुसेवा कार्यालय झापाले बधशालालाई व्यवस्थित बनाउन तीन बर्षअघि ३० लाख रुपैयाँ थप बजेट छुट्टयाएको थियो । तर, नगरपालिकाले ३० लाख रकम नलिन अस्विकार गर्दा आएको बजेट समेत फिर्ता गएको थियो । नगरपालिकाले बधशाला सञ्चालन कार्यलाई व्यवस्थित बनाउन नसक्दा करोड बढी लगानी बालुवामा पानी हाले सरह बन्न पुगेको छ ।

उपभोक्ता आफै जाग्नुपर्छ : नगर प्रमुख श्रेष्ठ

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार पशु वधशाला र माछामासु बिक्री केन्द्र फरक भएको प्रतिक्रिया दिए ।

‘भद्रपुर बधशाला नभएर माछामासु बिक्री गर्ने ढाँचाको रुपमा भवन बनाइएको छ’, उनले भने, जनप्रतिनिधि नभएको बेलामा निर्माण गरिएको बधशाला अहिले व्यवस्थापन गर्न समस्या उत्पन्न भइरहेको छ ।, नगरपालिका भित्रै रहेको चन्द्रगढी बधशालालाई माछामासु बिक्री केन्द्रको रुपमा व्यवस्थित बनाउन नगरपालिकाले बजेट विनियोजन गरी व्यवस्थापन गरिसकेको छ ।

‘भद्रपुर बधशालालाई प्रयोगमा ल्याउन नगरपालिकाले चासो देखाउँछ’, उनले भने, ‘यसलाई प्रयोगमा ल्याउनका लागि उपभोक्ता पनि सचेत हुनुपर्छ ।’ “बधशाला भन्दा बाहिर चोक/चोकमा खोलिएका पसलबाट माछामासु खरिद कार्य उपभोक्ता आफैले बन्द गर्नुपर्छ, किनभने त्यहाँबाट बिक्री गरिएको माछामासुको परिक्षण नहुनुका साथै अस्वस्थ्य माछामासु बिक्री समेत हुन सक्छ, त्यसका लागि उपभोक्ता आफै जाग्नु पर्छ,” उनले थपे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर