सुरुङ्गा।

अग्र्यानिक मल तथा बायोग्याँस उद्योग सञ्चालनका लागि सुरुङ्गामा कम्पनी स्थापना गरिएको छ ।

कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाबाट उत्पन्न हुने फोहोरमैलालाई संकलन गरी अग्र्यानिक मल तथा बायोग्यास उत्पादन गर्ने मुख्य लक्ष्यका साथ कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी झापा, नेपाल विधिवत् स्थापना गरिएको हो । सम्पूर्ण प्रक्रिया पूरा गरी कम्पनी दर्ता गरिएको जनाइएको छ ।
यसका लागि ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । कम्पनीको अध्यक्षमा सुरुङ्गाका व्यवसायी मिनाल तिम्सिना र प्रबन्ध निर्देशकमा दीपक चापागाई रहेका छन् । कम्पनीका सञ्चालकहरुमा कुमारमणि पोखरेल, मदनगोपाल सुब्बा, प्रेमसागर सापकोटा, सुष्मा परियार, ज्ञानुराम प्रसाई, सुवास भट्टराई, शंकरराज ढुंगेल, सोमनाथ उप्रेती र राजकुमार कट्टेल रहेका छन् ।

उद्योग स्थापनाका लागि कनकाई नगरपालिका वडा नं. २ मा करिब तीन बिगाह जमिनको व्यवस्थापन अन्तिम चरणमा पुगेको कम्पनीका प्रबन्ध निर्देशक चापागाईले जानकारी दिए । तीन वटै नगरपालिकाका कुहिने फोहोरलाई संकलन गरी बायोग्यास प्लाण्टमा हाली ग्यास उत्पादन गर्ने र बाँकी रहेकोबाट अग्र्यानिक मल बनाइने बताइएको छ ।
खरिद गर्न लागिएको बायोग्यास प्लाण्टको दैनिक क्षमता ३८–४० टन फोहोर लिने रहेको तर हाल तीनै वटा नगरपालिकाबाट करिब १५ टन मात्र फोहोर उत्पादन हुने भएकाले कनकाई वन, सुकेडाँगी वन, प्रजापति वन र जामुनाबारी सामुदायिक वनबाट नजिक हुने क्षेत्रमा प्लाण्ट स्थापना गरी अपुग रहेको कच्चापदार्थ वनभित्रका झारपात, मकैका ढोड लगायतका हरिया घाँसपातबाट पूर्ति गर्ने सोच रहेको कम्पनीका अध्यक्ष तिम्सिनाले बताए ।
तिम्सिनाले भने– ‘फोहोरलाई वर्गीकरण गरी कुहिने र नकुहिने छुट्याएर राखिदिने काम नगरबासीको हो भने वर्गीकरण गरिएको फोहोरलाई उठाएर प्लाण्टसम्म लैजाने, बायोग्यास र अग्र्यानिक मल उत्पादन गर्ने काम हाम्रो हो ।’ उनले यसबाट वातावरणीय सन्तुलन कायम हुने, रोजगारी सृजना हुने र आम्दानीको स्रोत पनि हुने बताए ।
यो कम्पनीको स्थापनाले वन समूहहरु, तीनवटै नगरका बासिन्दाहरु र कम्पनीका लगानीकर्ता सबै पक्ष लाभान्वित हुने देखिन्छ । नकुहिने प्लाष्टिक, धातु लगायतका वस्तुलाई पुनः वर्गीकरण गरी अलग अलग रुपमा पुनःचक्रणको प्रक्रियामा लैजाने बताइएको छ ।
उक्त कम्पनीले प्लाण्ट स्थापना गरी सञ्चालन गर्न नेपाल सरकार, प्रादेशिक सरकार, स्थानीय तह लगायतका सरकारी, गैरसरकारी तथा सर्वसाधारण उपभोक्ताबाट समेत खर्च जुटाइने बुझिएको छ । सो कम्पनीको कार्यालय कनकाई नगरपालिका–३, सुरुङ्गा, होटल डिलाइट रहेको भवनमा रहेको छ ।

